३ चैत्र २०८२, मंगलबार | March 17, 2026

चाडबाडको मेसोमा म्याग्दीका गाउँगाउँमा मेला र खेलकुद



बेनी । म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।

युवा क्लबले खेलकुदसँगै स्थानीय र राष्ट्रिय कलाकारको गीत, नृत्य प्रस्तुतिको कार्यक्रमले गाउँघर यतिबेला मेलामय भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

“आठ वटा वडा रहेको हाम्रो रघुगङ्गा गाउँपालिकाको बादुक, भगवती र कोटगाउँमा बडादसैँको अवसरमा रु एक लाखभन्दा बढी पुरस्कार राशिको खेलकुद प्रतियोगिता सञ्चालन भएको छ”, उनले भने, “मेलापर्वले ग्रामीण क्षेत्रमा खेल प्रतिभाको पहिचान, संस्कृति संरक्षण र गीत तथा नृत्य कला प्रस्तुतिको अवसर मिलेको छ ।”

रघुगङ्गा गाउँपालिका–१ को बादुक भूमे युवा क्लबले आयोजना गरेको बास्केटबल, पुरुष भलिबल, प्रौढ भलिबल, महिला भलिबल, बाल बास्केटबल र नृत्य प्रतियोगिताका साथै खेलमैदानको शुक्रबार प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पूर्वप्रदेश सांसद विनोद केसी र गाउँपालिका अध्यक्ष भण्डारीले उद्घाटन गरेका थिए ।

सोही अवसरमा गण्डकी प्रदेश सरकारको रु दश लाख अनुदान र स्थानीयको श्रमदानमा पुनःनिर्माण भएको बादुक खेलमैदान, सिङ्गापुर प्रहरीमा कार्यरत बादुकका मिथुन शेरपुञ्जाको नेतृत्वमा रु चार लाख २६ हजार चन्दा जुटाएर स्थापना गरिएको बास्केटबलको फाइवर बोर्डको पनि उद्घाटन गरिएको थियो ।

बादुकको बास्केटबल र पुरुष भलिबल प्रतियोगिताका विजेतालाई रु एक लाख १५ हजार पुरस्कार राखिएको छ । यसैगरी रघुगङ्गा गाउँपालिकाको वडा नम्बर २ भगवतीमा बडादसैँको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशि पनि रु एक लाखभन्दा बढी छ । मालिका गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा कात्तिक ६ गते दसैँ मेला सकिएको थियो ।

मालिका–२ रुममा भलिबल र वडा नम्बर ५ को देवीस्थान र वडा नम्बर ६ दरवाङमा फुटबल प्रतियोगिता आयोजना भएको छ । देवीस्थानको फुटबल प्रतियोगिताका विजेतालाई पनि रु एक लाख राशिको पुरस्कार राखिएको छ ।

सहर बजारबाट दश जोड दुई, क्याम्पस तहमा पढ्ने युवायुवती, विदेशबाट आएका प्रवासी र नेपालकै विभिन्न स्थानमा विविध पेसा र जागिरमा रहेका चाडपर्वको बिदामा खेलकुद प्रतियोगितामा रमाउने गरेका बादुक भूमे युवा क्लबका लोकेन्द्र गर्बुजाले बताए । मेलामा स्थानीय मौलिक गीत र नृत्य प्रस्तुत गर्ने चलन छ । मौलिक सोरठी, मारुनी, पुख्र्यौली गीतमा नृत्य गर्ने गर्दछन् ।

बादुकको खेलकुद प्रतियोगिता र खेलमैदान उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य गर्बुजा र प्रदेश सांसद भण्डारीले मेला महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताए । ग्रामीण क्षेत्रमा आयोजना भएका खेलकुद प्रतियोगिताबाट छानिएका खेलाडीलाई जिल्ला, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर मिलाउने उनीहरुले बताए ।

राष्ट्रिय महिला भलिबल टिमकी कप्टान अरुणा शाही, महिला भलिबल खेलाडी कमला पुन, पवित्रा विसीलगायत म्याग्दीका धेरै खेलाडी प्रदेश, विभिन्न क्लब र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका छन् । उनीहरु पनि यसैगरी ग्रामीण क्षेत्रमा आयोजना हुने गरेका खेलकुद प्रतियोगिताबाट नै छानिएर माथि पुगेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ८ : ०३ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन