११ माघ २०८२, आइतबार | January 25, 2026

पर्यटकले भरिभराउ बन्दै शाहसिक पर्यटकीय क्षेत्र कुश्मा



कुश्मा । शाहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ ।

विभिन्न सङ्घसंस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएका छन् । कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

नेपालीको सांस्कृतिक पर्वमध्येको ठूलो पर्व बडादसैँ सकिएसँगै पर्यटकको चहलपहल बढ्न थालेको हो । दसैँ तिहारजस्ता चाडबाडका कारण पनि पर्यटक बढी भित्रिएका हुन् । सरकारी वा सार्वजनिक बिदालाई पछिल्लो समय नेपालीले घुमघाम र मनोरञ्जन लिएर बिताउन थालेका छन् । हिउँदयामसमेत सुरु भएकाले पर्वत सदरमुकाममा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् ।

विगतका वर्षमा आन्तरिक पर्यटक मात्र आउने कुश्माका पर्यटकीयस्थलमा पछिल्लो समय बाह्य पर्यटकको सङ्ख्यासमेत बाक्लिन थालेको होटल ड्रागनका सञ्चालक सुरेश केसीले जानकारी दिए । पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् ।

पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । सोह्रश्राद्ध, वडादसैँलगायतका कारण हिमालपारीको जिल्ला मुस्ताङको कागवेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलपहल बढ्न थालेको हो ।

मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रबाट शैक्षिक सङ्घसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउनेक्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फसमेत जाने गरेको होटल व्यवसायीको भनाइ छ ।

पछिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन् । यता बञ्जीजम्प र जीपलाइनमासमेत एक हप्ताअघिदेखि नै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाका दिनमा पर्यटकको चाप बढी हुने गरेको भए पनि यतिबेला लामो सरकारी बिदा भएकाले नियमितजसो भीडभाड हुन थालेको छ ।

यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्यमात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । दैनिक एक सयभन्दा बढीले बञ्जी तथा स्वीङ गर्ने गरेको र त्यसकै हाराहारीमा पिङ, रकक्लाइम्बिङ, साइकलिङ गर्ने गरेको कार्कीको भनाइ छ ।

पर्यटकको चलहपहलसँगै कुश्मा बजार नजिकै कालीगण्डकी नदीको सानो बगरमा झण्डै रु २० करोड लगानीको एड्भाञ्चर रिसोर्टसमेत बिहीबारदेखि सञ्चालनमा आएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ०५ बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक