१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

‘प्रभावितको उद्धार सक्यौँ, राहत र पुनर्स्थापनामा जुटेका छौँ’ : चन्द्रप्रकाश घर्ती, भेरी नगरपालिका प्रमुख



जाजरकोट । हामीले उद्धार सक्यौँ । अब राहतका लागि दौडिरहेका छौँ । विस्थापित परिवारलाई कहाँ राख्ने, के खुवाउने, कसरी सुताउने भनेर लागिपरेका छौँ । नगर क्षेत्रका प्रायः घर क्षतिग्रस्त भएका छन् । लत्ता कपडा, भाँडाकुडा, खाद्यान्न नष्ट भएका छन् । प्रभावितलाई बेलुकीको खाना कसरी खुवाउने तथा कसरी बसाउने भन्ने चिन्ता थपिएको छ । भूकम्पबाट प्रभावित सबै जना खुला चौर तथा सडकमा बसिरहनुभएको छ । राहतका लागि ध्यान केन्द्रित गरेका छौँ ।

भूकम्पबाट सबैभन्दा बढी भेरी नगरपालिकामा मानवीय तथा भौतिक क्षति भएको छ । नगरपालिकाको वडा नं १ र ३ मा बढी क्षति भएको छ । अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ । अझै केही शव सङ्कलनकै क्रममा छ । अझै १०र१५ वटा शव थपिन सक्ने देखिएको छ । भेरी नगरपालिकामा मात्रै ५५ देखि ६० जनाको मृत्यु भएको अनुमान गरिएको छ । एक सय ३४ जनाभन्दा बढी घाइते हुनुभएको छ ।

गए राति ११ः४७ मा भूकम्प गयो । हामी राति १२ बजेदेखि नै उद्धारमा खटियौँ । स्थानीय सरकार, जिल्ला सदरमुकाममा केन्द्रित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, युवालगायतको सहभागितामा उद्धार गर्‍यौँ । सबैको सामूहिक प्रयासबाट उद्धार सम्भव भयो । घाइतेको खोजी, प्रारम्भिक उपचार गरी थप उपचारका लागि सुर्खेत र नेपालगन्जका अस्पतालमा पठाउने काम बिहान ७ बजेसम्म गरिसकेका थियौँ । रातभर नसुती सबै टोली खटियौँ । सबैको सामूहिक प्रयासबाट त्यो सम्भव भयो ।

सम्पूर्ण घाइतेको उपचार भइरहेको छ । मृतकको शव परीक्षण जारी छ । परीक्षण भइसकेका शव परिवारको जिम्मा लगाइएको छ । मृतकको सङ्ख्या ठूलो भएकाले शव परीक्षणमा संलग्न चिकित्सक दबाबमा हुनुहुन्छ । अस्पतालमा औषधिको कुनै कमि हुन दिइएको छैन । सङ्घ र प्रदेशबाट चिकित्सकसहित औषधि प्राप्त भएको छ । सङ्घ र प्रदेश सरकारको सहयोगलाई हामी सम्मान गर्छौँ ।

अब राहतको तनाव भएको छ । विस्थापितलाई खाने बस्नेको व्यवस्था मिलाउन लागिएको छ । बेलुकी खुला आकाशमा कसरी सुताउने, के खुवाउने, कम्बल, त्रिपाल कसरी व्यवस्था गर्ने भनेर लागि रहेका छौँ । पूर्ण र आंक्षिक क्षति भएका घरको तथ्याङ्क सङ्कलन भइरहेको छ । भौतिक क्षतिको विवरण सङ्कलनका लागि वडा कार्यालयलाई परिचालित गरेका छौँ ।

मृतक र घाइतेको सङ्ख्या साँझसम्म पुष्टि भइसक्छ । भौतिक क्षतिको विवरण आउन केही दिन लाग्न सक्छ । वडा नं ४ मा रहेका पूराना घरहरु सबै क्षतिग्रस्त भएका छन् । अन्य घरमा पनि आंशिक क्षति पुगेको छ । घरमा फर्केर जान जनता चाहिरहेका छैनन् ।

पहिलो चरणमा प्रभावितलाई राहत विरतण गर्छौँ । पीडितलाई मलहमपट्टी लगाउँदै छौँ । त्यसपछि पुनःस्थापनामा ध्यान दिनेछौँ । राहतका लागि विभिन्न सङ्घसंस्थालाई अनुरोध गरेका छौँ । नगरपालिकाले आफ्नो साधनस्रोत परिचालन गरी जनतालाई सहयोग गर्छ । सङ्घ र प्रदेश सरकारलाई पनि सहयोगको अनुरोध गरेका छौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रभावित क्षेत्रको अवलोकन गरेर फर्कनुभएको छ । विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ । (रासससँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ४ : २३ बजे

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने

तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम, २४ गते ‘म्ह’ पूजा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन