९ चैत्र २०८२, सोमबार | March 23, 2026

सुरु भयो गौराति मेला



सिन्धुपाल्चोक । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भीमेश्वर मेलाको चहलपहल सुरु भएको छ । कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनपछि सकिने उक्त मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले यसलाई जिल्लाकै लामो मेलाका रुपमा मानिएको हो ।

मेलाका उपलक्ष्यमा यही सोमबार चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी-६ स्थित गौरातिडाँडामा रहेको भीमेश्वर मन्दिरसम्म पुग्न यातायातकोसमेत सुविधा रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेला भर्न आउने भक्तजनको सुविधाका लागि खानेपानी र विद्युत्को व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् ।

मेलामा शान्तिसुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । मेलामा शान्ति सुरक्षा कायम गर्न मन्दिर परिसरमा सादा पोशाकसहित सुरक्षाकर्मी खटाइएको उनले बताए ।

मेलामा कोही व्यक्ति हराएमा खोजतलासका लागि सुरक्षाकर्मी र स्थानीय क्लब समावेश गरी नगरपालिकाको कर्मचारी सहितको सचिवालयसमेत गठन गरिएको सहायक प्रजिअ श्रेष्ठले जानकारी दिए ।

चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनःफर्काइन्छ । गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात् सिन्दुरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भीमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने गर्दछन् ।

पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातिराति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुका साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको किंवदन्ती छ । ‘गौ’ अर्थात् गाईले राति दूध चढाएका कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणका रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घण्टाका आधारमा ४३६ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ । मन्दिरमा मेला अवधिभर हजारौँ पशुपक्षीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार गरिँदै आए पनि विसं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण भएको थियो । सो समयमा रुद्राक्षको बिरुवासमेत रोपिएको थियो । अहिले सो रुद्राक्ष दाना फल्न थालेको स्थानीय चन्द्र खत्रीले बताए ।

उनका अनुसार धार्मिक आस्था राख्नेहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जत्तिकै शक्तिशाली मान्दछन् र मनले चिताएको कुरा पूरा हुने विश्वास गरिन्छ । समुद्री सतहबाट एक हजार आठ सय २८ मिटरको उचाइमा रहेको मनोरम गौरातिडाँडा मनोरम दृष्यावलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिने स्थानीय अमीर श्रेष्ठले बताए ।

गौराती युवा क्लबका अध्यक्ष वाङ्गेल लामाका अनुसार मेलामा राष्ट्रिय कलाकार शिवहरि नेपाल, चन्द्रसिं घले, सरोज लामिछाने, सीमा भण्डारी, जीतु लोप्चन, प्रश्ना शाक्य, सञ्जीव घिसिङ, शम्भु सरगम, जादुगर राजेन्द्र गिरी लगायतको सांस्कृतिक प्रस्तुति रहने छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ३ : ४९ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय