२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सम्पन्न भएन



जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ । अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन ।

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए । आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ ।

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी-१ का वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए ।

आयोजनाको काम दुई प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।

जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : ५३ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको