१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नारायणगढ-बुटवल सडक : कालोपत्रे गर्ने बिटुमिन छैन, क्रेन नहुँदा पुलको बिम उठेन



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक कच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ ।

“यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।”

बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताए ।

“अहिले सडकमा बेस र सब बेस (खनिएको सडकमा माटोले पुर्दै कालोपत्र गर्ने चरणमा पु¥याउने अवस्था)को काम तथा नाली निर्माण भइरहेका छन्”, उनले भने, “निर्माण कम्पनीको मासिक प्रगति विवरण हेर्दा अहिले दैनिक एक हजार तीन सय जना कामदार लगाएर सडक विस्तार भइरहेको पाएका छौँ ।”

सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाए । “हाम्रो डण्डामा रहेको अक्सपाल्ट प्लान्टमा बिटुमिन सकिएर कालोपत्र गर्नका लागि अक्सपाल्ट निर्माण गर्न सकेका छैनौँ” उनले भने, “बिटुमिन भन्सारमा आइसकेको जानकारी पाएका छौँ, केही औपचारिकता पछि नेपाल भित्रिन्छ ।” बिटुमिन आएलगत्तै कालोपत्र सुरु हुने झाको भनाइ छ ।

अक्सपाल्ट प्लाण्टमा बिटुमिन आएपछि एकदुई दिन अक्सपाल्ट तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताए । अहिले कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको उनको भनाइ छ । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक विस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ ।

योजनाको पूर्वीखण्डमा पर्ने गैँडाकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको खनालको भनाइ छ । “एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन निर्देशन भएको छ”, उनले भने, “यस वर्ष एकतर्फी कालोपत्रको काम सकाउने गरी निर्माण पक्ष लागेका छन् ।” पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको उनको भनाइ छ ।

सडक विस्तारका क्रममा नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डमा निर्माण हुने १२ वटा मेजर ब्रिज (ठूला पुल)मध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी खनालका अनुसार झराही खोलाको पुल र कावासोती खोलाको पुल निर्माण सम्पन्न भएको हो । “निर्माण सम्पन्न भएका दुई वटा पुलमा सवारीसाधन सञ्चालनमा ल्याइएको छैन” उनले भने, “बाँकी १० वटा पुलमा फाउण्डेसन (जगको पिल्लर) निर्माण गर्ने काम सकिएको छ अब बिम राख्नमात्रै बाँकी छ ।”

ठूला पुलको लागि पुलभन्दा बाहिरै सडकमा बिम निर्माण गरिएको उल्लेख गर्दै खनालले बिम उठाएर पुलको फाउण्डेसनमा लगेर जोड्ने क्रेन उपलब्ध नहुँदा बिम जोड्ने काम प्रभावित भएको बताए । “पुलभन्दा बाहिर बिम निर्माण गर्दा काम चाँडो हुने भएकाले निर्माण पक्षले सडकमा बिम निर्माण गरेको छ” उनले भने, “सबै पुलको बिम निर्माण भइसकेका छन्, क्रेन ल्याएर एकैपटकमा बिम राख्ने काम हुन्छ ।” यस खण्डमा निर्माण हुने २२ वटा माइनर ब्रिज (साना पुल)मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको भन्दै अरुणखोलामा पर्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

यस खण्डमा पर्ने दाउन्नेमा पाँच किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अन्य ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने अतिरिक्त दुई लेन सडक विस्तार गर्ने गरी काम अघि बढिरहेको छ ।

गैँडाकोट-दाउन्ने सडक खण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रहेको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विसं २०७५ माघ २४ मा चीनको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १० : ०७ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान