९ कार्तिक २०८३, सोमबार | October 26, 2026

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका



इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । “चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ”, अधिकारीले भने ।

सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए । “यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिँदैछौँ । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौँ”, नगरप्रमुख राईले भने, “यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।”

किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन् । “त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ । अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौँ”, उनले भने । “चियालाई ‘अग्र्यानिक’ बनाउन पालिका लागिरहेको छ ।”

एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए । “व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौँ”, उनले भने ।

राम्ररी टिपेको चिया रु ४० देखिमाथि रु दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ । “गुणस्तरीय चिया टिपौँ न । चियाको न्यूनतम समर्थन मूल्य रु ४० हो । तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ ।” उनी भन्छन, “चालिस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले रु ४० दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौँ ।”

सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए । “बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि रु ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ”, उनले भने ।

चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने राई बताउँछन । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ ।

नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो रु ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो । चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए-नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ ।

नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ५८ बजे

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि