३ भदौ २०८३, बुधबार | August 19, 2026

गाउँमा सडक पुग्यो, मासिए सम्पदा



म्याग्दी । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।
गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन् । सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मतसम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ ।
“गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन् । कँुवा, धारो र पँधेरा देखिन छोडेका छन्”, खबराका यामबहादुर घिमिरे भन्छन्, “वनजङ्गल पनि उराठलाग्दो बनेका छन् । मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ । घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठलाग्दो छ ।”
गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउँछन् । “डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दुःख बिर्साउदथ्यो”, उनी भन्छन्, “बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौतरीसँग दुःखसुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?”
गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउँछन्, मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक । “बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपु¥याइदिन्छ । बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो”, विक भन्छन् “तर, वर्षामा  भने न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिबास लगाउने डर हुन्छ ।”
वातावरणीय मूल्याङ्कन नगरिकन जथाभावी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा  भएका गाउँ थप जोखिममा परेका छन् । ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने वाध्यता छ । “सडक खन्दा घुमाउरो (नागबेली) पारेर खन्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्”, धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल  भन्छन्, “गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।”
सडकले गोरेटो बाटो मासेपछि वस्ती पनि टाढा टाढाजस्ता भएका छन् । पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उहाँको भनाइ छ । सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौँ सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गर्छन्।
उनी बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिएपछि राजा भर्तिवम मल्लका अङ्गरक्षकले हातहतियार उधाउने बञ्चरेढु्गा अस्तित्वविहीन भएको बताउँछन् । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकाले स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिए पनि त्यो प्रयास पर्याप्त नभएको कार्कीको भनाइ छ ।
यस्तै त्यसबेलाका राजा र उनका सहयोगी शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा रहेको र अहिलेसम्म मर्मत गर्नेतर्फ कसैको ध्यान नपुगेको स्थानीय बूढापाका बताउँछन् । “नासिएर गएका सम्पदालाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदा संरक्षण हुन नसक्नु ज्यादै दुःखद् कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय सोही ठाउँ निवासी टीकाबहादुर कार्की गुनसो गर्छन् ।
गोरेटो बाटो (पदमार्ग) मासिएपछि घोडेपानी पुनहिलजस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरुको बसाइ पनि कम हुँदै गएको छ । पर्यटक घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नु नै  मानिएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोका कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या डमबहादुर पुन बताउँछन्। “पर्यटक यहाँ गाडी चढ्न र पिज्जा, बर्गर खानमात्र  आउने होइनन्, रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडक नै  सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन”, उनको गुनासो छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । ती वडामध्ये धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अरु सबै वडाका बस्तीमा सडक पुगेको छ ।
रासस

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ३६ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार