५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बागलुङ अमलाचौरका नवराज अमेरिकामा बसेर गीत सिर्जना गर्छन्



बागलुङ । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उनी भन्छन्, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के ।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिर्नुभएका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गए ।

प्रवासिनुअगावै उनले लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’लगायत चर्चित गीतमा शब्द संकलन गरेका थिए । विसं २०६८ मा सार्वजनिक उक्त गीत नै पन्तले लेखेको पहिलो गीत हो । यसमा वसन्त थापाले सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएका छन् ।

सोहीताका चर्चा कमाएको लोकदोहोरी गीत ‘मायालुको सहरमा’ पनि पन्तकै सिर्जना हो । वसन्त थापाको सङ्गीतमा गणेश पौडेल र पूर्णकला बिसीले गाएको उक्त गीतले पनि व्यावसायिक सफलता पायो । ‘डाँडै फुर्के सल्लो’ र ‘मायालुको सहर’बाट भर्खर गीतकारका रूपमा उदाएका बेला परिस्थितिवश पन्तले देश छाड्नुप¥यो ।

पन्त, अमेरिका पुगेपछि पनि गीत सिर्जनाबाट भने टाढिएनन् । विसं २०७५ जेठतिरको कुरा हो । पन्त बाल्टीमोरस्थित एक कम्पनीमा काम गर्दै गरेका बेला गायक एवं सङ्गीतकार वसन्त थापाले पन्तसँग नयाँ गीत मागे । आफ्ना सबैभन्दा श्रद्धायोग्य सङ्गीतकारले भनेपछि गीत नलेख्नु पनि कसरी १ पन्त केहीबेर घोत्लिए । छिनभरमै फुर्‍यो ‘सालको पातको टपरी…’।

“गुन्गुनाउँदै काम गर्दै थिएँ, एक्कासी गीतको थेगो फु¥यो । कागजको चिर्पेटोमा शब्द उतारेँ”, पन्तले भने, “कामबाट कोठामा फर्केपछि गीतलाई साफी गरेर सङ्गीत भर्न वसन्त दाइलाई पठाएँ, पहिले थेगो लेखेपछि बल्ल ‘सालको पातको टपरी…’ को धुन तयार भएको थियो ।” पराइ भूमिमा बसेर लेखेको त्यही गीतले पन्तलाई गीतकारका रूपमा थप उचाइ दियो ।

गीतकार पन्तको शब्द रचना, सङ्गीतकार वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीद्वारा स्वरबद्ध उक्त गीत नेपाली लोकसङ्गीतमा इतिहास रच्न सफल गीत हो । जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको लोकदोहोरी गीतमा मानिन्छ । अहिलेसम्म उक्त गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा नौ करोड २० लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ ।

प्रायः गीतमा रचनाकारबारे उतिसाह्रो चासो नलिने र गीतकार आझेलेमा पर्ने प्रवृत्तिबीच ‘सालको पातको टपरी’ सार्वजनिक हुँदा गीतकार पन्तका विषयमा सङ्गीतवृत्तमा पनि उत्तिकै चर्चा चल्यो । उक्त गीत सफल हुनुमा शब्द, सङ्गीत र स्वर गरी तीनै पक्षको भूमिका रहेको भन्दै प्रशंसा भएको थियो ।

“मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई मैले कथानक बनाएर गीतमा उतारेँ । वसन्त दाइले जीवन्त सङ्गीत दिनुभयो । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीजस्ता मुर्धन्य गायकगायिकाको स्वरले गीत सबैको मनप्रिय बन्यो”, गीतकार पन्तले भने । गीतकारका रूपमा पन्तले मात्र नभएर सङ्गीतकार र गायकगायिकाले पनि पटकपटक सामना गरिरहेको प्रश्न हो, ‘सालको पातको टपरी’ जत्तिकै अर्को गीत कहिले आउँछ ?

“सालको पातकै टिम मिलेर नयाँ गीतमा काम गरिरहेका छौँ, नयाँ प्रयोग गर्न खोजेका छौँ, हेरौँ कति सफल भइन्छ”, गीतकार पन्तले भने, “कुनै गीत सर्वाधिक चलेपछि अवश्य पनि त्यसपछिका गीतमा काम गर्दा कुनैपनि सर्जक र गायकगायिकालाई अझ राम्रो गर्न मनोवैज्ञानिक दबाब त हुन्छ नै, त्यो मैले पनि महसुस गरेको छु ।” ‘सालको पातको टपरी’ लेख्दा पनि यति सफल होला भनेर आफूले नसोचेको उनले बताए ।

पन्तको शब्द, वसन्त थापाको सङ्गीत, कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा आउन लागेको नयाँ गीत हो ‘माहुरी भिरैमा’ । शब्द र भाकाले पूर्णता पाइसकेको र अहिले काठमाडौँको स्टुडियोमा सङ्गीत संयोजनको काम भइरहेको पन्तले जानकारी दिए ।

बाल्टीमोरमा मेकानिकल इन्जिनियरिङ विषय पढिरहेका पन्तले आफूलाई बालापनदेखि नै गीतसङ्गीतमा अभिरुचि जागेको बताए । “सानो छँदा सुनेको बमबहादुर कार्कीको ‘नरोउनरोउ हे दुलही’बाट म असाध्यै प्रभावित भएको थिएँ । गाईगोरु, बाख्रा लिएर वनपाखा जाँदा, घाँसदाउरा गर्दा भगवान भण्डारी, विष्णु खत्रीलगायतका गीत धेरै सुन्थ्यौँ”, उनले भने ।

गायक तथा सङ्गीतकार वसन्त थापा, गायक कुलेन्द्र विश्वकर्मा, गीतकार प्रल्हाद सुवेदीलगायतसँगको सङ्गतले आफूलाई गीत लेखनमा प्रेरित गरेको उनले बताए । अग्रजको प्रेरणा, सिर्जनाप्रतिको कठोर मेहनत र निष्ठाका कारण गीत लेखनमा सफलता मिलेको हो ।

बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका पन्तले अमेरिका बसेर ‘सालको पातको टपरी’, ‘कुन्नी कसले लग्यो’, ‘पानपाते ठूली’, ‘एक्लो सिमल’ ‘रानी महल’, ‘आँखी गाजल’लगायत कैयन गीत रचना गरेका छन् । “कला र गीतसङ्गीतको सिमाना नहुनेरहेछ । न त कुनै भूगोलले सिर्जनाकर्म रोक्न नै सक्दोरहेछ”, ३४ वर्षीय पन्तले भने, “जिजीविषाले जहाँ पुगे पनि मेरो गीत लेखन र अरु सिर्जनाकर्मको जमिन भनेको त्यही गाउँघर र परिवेश हो ।”

कुनै घटना, विषय र परिवेशले आफूमा गीत लेखनको मनस्थिति तयार हुने गरेको पन्तले सुनाए । “काठमाडौँबाट घरको यात्रामा थिएँ, दमौली नजिक पुग्दा पारी पाखामा एक्लो रुख र घर देखेँ, त्यो दृश्यले मलाई उद्देलित बनायो, त्यसैलाई भावभूमि बनाएर गीत रचे ‘डाँडै फुर्के सल्लो’ जुन गीत एकदमै रुचाइयो पनि”, उनले भने ।

कङ्क्रिटको सहरमा बसेर पनि नेपाली लोकजीवन, संस्कृति, मानिसका व्यवहार र भोगाइलाई शब्दमा टिप्न पन्त सिपालु छन् । उनी प्रकृतिको धुन र लोकका सुस्केरालाई सुटुक्क टिप्छन् र शब्दमा प्राण भर्छन् । चाहे त्यो पञ्चेबाजामा होस् या सुनिमाया भाकामै किन नहोस् । पन्तले गायक ईश्वर सिंहसँग मिलेर बागलुङको गलकोटमा प्रचलित मौलिक ‘सुनिमाया’ भाकामा गीत ल्याउन लागेको बताए ।

चलनचल्तीका लोकदोहोरीसँगै पञ्चेबाजा, सालैजो, यानिमाया, सुनिमायालगायत मौलिक गीतमासमेत पन्तले शब्द लेखेका छन् । पन्तको मूल सिर्जनाकर्म गीत लेखन हो । फुटकर रूपमा कविता, गीतलगायत साहित्यिक विधामा पनि उनी कलम चलाउँछन्। “भौतिकरूपमा मेरो उपस्थिति जहाँ रहेपनि म सिर्जनात्मक दृष्टिले नेपालदेखि टाढा छैन, चाहेर पनि अब लोकसङ्गीतप्रतिको प्रेम र समर्पणबाट अलग हुन सक्दिनँ”, पन्तले भने। रासस

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : २० बजे

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली