१ असार २०८२, आइतबार | June 15, 2025

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकमवासी



बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।

हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ । भजनकिर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेका स्थानीय कलाकार ऋषिराम सुवेदीले बताए । “यो नाच यस क्षेत्रको करिब २०० वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्य रूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ”, उनले भने ।

राधाकृष्ण नाचका लागि समूहले भजनकिर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मवलम्बीको भगवान शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाचगान तथा भगवान गणेश र खलपात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ । राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकिर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताए । उनका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ । हालै गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

गाउँपालिकाले पुख्र्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरण संगै सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले बताए । राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।

अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, सभारोह, उत्सव मेला महोत्सवमा समेत प्रर्दर्शन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्द्धनको माध्ययम बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  २ : १२ बजे

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण

लोक सेवा आयोगले आज हीरक महोत्सव मनाउँदै

काठमाडौं । ‘योग्यता, निष्पक्षता र स्वच्छता’ मूल मर्मका साथ अगाडि

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको