३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

कपिलवस्तु बस दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो



लुम्बिनी । “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौंतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन । उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन ।

सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै दुर्घटना हुँदा उनी घाइते भइ हाल अस्पतालमा उपचाररत छिन । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए ।

“दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो”, भीमदत्त नगरपालिका-१६ घर भएकी थापाले सुनाइन, “रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।”

सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भने, “राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रुहरू चिच्याउन थाले ।”

कपिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहेका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक-पटक प्रयास गर्दा पनि असफल भएको बताए । “शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ”, उनले भने, “जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।” उनले बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्छन ।

पेशाले मूर्तिकार काठमाडौं कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाए । “आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन”, अनिलले भने । उनी बसको क्याबिनमा चालक नजिकैको सिटमा बसेका थिए ।

दुर्घटनामा रौतहट औरही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल-३ भइ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ ।

साथै भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका-२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका-९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो ।

बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाए । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहेका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ । सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए ।

“उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ”, केसीले भने, “घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।” बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ४ : ५६ बजे

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जान सकिन्छ : प्रचण्ड

वीरेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी