६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर



म्याग्दी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका-५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उनी भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पसेका थिए ।

सहरको सुविधासम्पन्न जीवनशैली छाडेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा अँगालेका उनी अधिकांश समय पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रका वन, जङ्गल, बुकी र खर्कमा भेटिन्छन । उनले करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म सञ्चालन गर्दै आएका छन । हिउँदमा बेँसीका फाँटसम्म झारिने भेडीगोठ बर्खा लागेपछि हिमालका बुकीहरूमा पुर्याउने गरिन्छ ।

करिब तीन महिनासम्म मुस्ताङका हिमाली जङ्गलमा हुर्काएका भेडाहरूलाई यतिबेला छ महिनापछि आफ्नै गाउँ मल्कबाङको फाँटमा ल्याएको उनले बताए । मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको किनारमा रहेका बारीको फाँटमा उनको भेडीगोठ राखिएको छ । घुम्ती गोठका भेडाबाख्रालाई एकै ठाउँमा राखेर पाल्न नमिल्ने भएकाले बेँसीका खेतबारीलाई मल पनि हुने र घाँस पनि व्यवस्थापन हुने भएकाले बारीको पाटा-पाटामा गोठ सार्ने गरिन्छ ।

मुस्ताङबाट गोठ हिँडाएको एक महिनामा गाउँमा आउन सफल भएको किसान छन्त्यालको भनाइ छ । मुस्ताङको कोबाङ मुलीबुकीबाट लेते हुँदै म्याग्दीको दाना ल्याएर त्यहाँबाट भुरुङ, दोबा, बेग, चिमखोला, कुइनेमङ्गलेको लेकाली क्षेत्र र वनजङ्गल हुँदै भेडीगोठलाई मल्कबाङ ल्याइपुर्याएको उनले बताए । “वैशाख-जेठसम्म्म अब बेँसी र पहाडका फाँट र जङ्गलमै भेडीगोठ राख्छौँ, जेठको अन्तिमतिरमात्रै हिमाली बुकीहरूमा पुग्छन् गोठ, धवलागिरि हिमालको आधार शिविरसम्म नै गोठलाई लैजाने गर्छौँ”, उनले भने ।

घुम्ती गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको उनले बताए । “पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, आज त्यो परम्परागत पेसा हराएर जान थालेको छ, हाम्रो बाबुबाजे सबैले यहीँका भिर-पाखामा पसिना बगाउनुभएको छ, हाम्रो जिजुहरूले पनि भेडापालन नै गर्नुभएको थियो, पुर्खाको पेसालाई पछ्याउँदै म पनि भेडीगोठ पसेको हुँ”, उनले भने ।

सहरको सुविधालाई छाडेर गाउँ पसेकामा आफूलाई पछुतो नभएको र गौरवको अनुभूति हुने गरेको उनी बताउँछन । “मेरो सीपले सहरमै पनि सुविधायुक्त जीवनयापन गर्न सक्ने थिएँ, तर पुख्र्यौली ठाउँले मलाई तान्यो, म आफ्ना पुर्खाको पसिनाले सिञ्चित भएको वनजङ्गलमै रमाउन आएको हुँ, यहाँका हरेक खर्कमा मलाई मेरा पुर्खाहरूको आशीर्वाद मिलेजस्तो सन्तुष्टि मिलेको छ”, उनी भन्छन ।

सत्चालीस वर्षका छन्त्यालले भेडापालनबाट वार्षिक रु २० देखि २५ लाखसम्मको भेडाबाख्रा बिक्री हुने गरेको बताउँछन । “भेडाबाख्राको बजारीकरणमा समस्या छैन, भेडा साढँ र खसीबोको खोज्दै ग्राहक गोठमै आइपुग्छन्, हिउँदयाममा चरन क्षेत्रको अभावले धेरै पाल्न सकिँदैन”, उनले भने । बर्खायाममा बुकीमा चरन क्षेत्रको अभाव नहुने भए पनि हिउँदयाममा बेँसीमा चरन क्षेत्र र घाँसको अभाव हुने भेडापालक किसान बताउँछन् ।

दसैँ र तिहारको समयमा सर्वसाधारणदेखि व्यापारीसमेत गोठमा पुगेर भेडा, खसी खरिद गर्ने गर्छन् भने स्थानीयस्तरमा हुने मण्डली, भुमे, सिद्ध, देउराली, मालिकालगायतका देवीदेवताको थानमा पूजा गर्न र भाकल पूरा गर्नसमेत साँढ र बोका धेरै खपत हुने गरेको छ । हिमाली बुकीमा समेत पालिने भएकाले भेडीगोठका भेडाको माग अत्यधिक हुने गर्छ । भेडापालन पेसा अधिकांश समय वनजङ्गलमै बस्नुपर्ने भएकाले गोठाला पाउन मुस्किल पर्छ ।

जङ्गलमा भेडीगोठमा बाघ, भालुको आकर्षणदेखि चट्याङ, वर्षा, हिमपातलगायतका प्राकृतिक विपत्तिको समेत सामना गर्नुपर्छ । आफूले निरन्तररूपमा अस्थायी टहराका लागि माग गरे पनि सम्बोधन नभएको छन्त्यालले बताए । उनले हिमपात र भारी वर्षा हुँदा भेडाका पाठापाठी बचाउन मुस्किल पर्ने भएकाले आफूले चरन क्षेत्रमा सामूहिकरूपमा भेडाबाख्रा राख्न मिल्ने अस्थायी टहरा बनाउन माग गरेको बताए । छन्त्यालको भेडीगोठमा अहिले तीनजना हेरालु छन् भने वन्यजन्तुको आक्रमणबाट बचाउन पाँचवटा भोटे प्रजातिका कुकुरसमेत रहेका छन् ।

पछिल्लो समय भेडापालन गर्ने किसान घट्दो छन् । युवापुस्ता रोजगारका लागि विदेश पलायन हुने र गोठ बस्न कठिन हुने भएकाले घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामा पुग्न थालेको छ । हराउँदो घुम्ती गोठमा पशुपालन गर्ने परम्परात पेसालाई अंगालेर स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश हिमबहादुरको हिम्मतले देखाएको धवलागिरि गाउँपालिका-५ कल्कबाङका वडाध्यक्ष अमर छन्त्यालले बताए । “दुई दशक लामो समय विदेश बसेर पुनः आफ्नै गाउँठाउँमा फर्किएर भेडापालन गर्नुभएका हिमबहादुरको हिम्मत सबैका लागि प्रेरणादायी छ, अहिले युवाहरू गोठ बस्न रुचाउने कुरा भएन, गोठलाई व्यवस्थित बनाउन र अनुदानमा सरकारी तवरबाट खासै प्रोत्साहन हुनसकेको छैन, तर हामीले उहाँलाई आवश्यक सहयोग गर्न सहजीकरण गर्ने पहल थालेका छौँ”, उनले भने ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ३० बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल