४ भदौ २०८३, बिहिबार | August 21, 2026

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए



इलाम । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका-१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका-१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र रु ५५ लाख ६८ हजारको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।

यसैगरी, नाङरुङमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए । “वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ”, वडाध्यक्ष योङाहाङले भने, “आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।”

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०-२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

गतवर्ष सोही वडामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७ किसान लाभान्वित भएका छन् ।

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ ।

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ८ : ४६ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका