१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कृषिबाटै करोडपति



सुनसरी । कृषि क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राईले भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्छन ।

कृषिबाटै नाम र दाम कमाएका उनी भन्छन, “अल्छी गर्नेलाई कतै सम्भावना छैन, जाँगर हुनेलाई कृषिमा सम्भावनै सम्भावना छ”, सोताङ अग्र्यानिक कृषि फर्म खोलेर तरकारी र फलफूलको खेतीसँगै कुखुरा, बाख्रा, बङ्गुरदेखि गाईसम्म पालन गरेका राईले यसैबाट बार्षिक करोडौंको कारोबार गर्दै आएका छन । कृषिबाटै उनले करोडौँको जग्गा जमिन जोडेका छन, भव्य घर बनाएका छन । कृषिबाट उनी आफुले मात्र कमाएका छैनन, अरुलाई पनि रोजगारी दिएका छन ।

कृषिकर्मबाटै उनले धरानमा अढाई बिघा जग्गा जोडेका छन भने बराह क्षेत्रमा करिब १५ विघा किनिसकेका छन । ती जग्गामा कतै विभिन्न तरकारी र फलफूल लगाएका छन भने कतै ठूलो मात्रामा सयौं प्रजातिका फूलको नर्सरी बनाएका छन । उनको गोठमा ५५ वटा गाई छन् । ती गाईबाट उत्पादन भएको दूध धरान बजारमा दैनिक पाँच सय लिटर बिक्री गर्छन ।

त्यस्तै उनको खोरमा अहिले १० वटा बङ्गुरका माउ छन् । तिनबाट उत्पादन भएका बच्चा बेच्नुहुन्छ भने मासुका लागि पालिएका बङ्गुर पनि बेच्छन । उनले कुखुरा, हाँसलगायतका पंक्षीहरु पनि पालेका छन । घरै उनले माटो बिना साग फलाउन सकिने हाइड्रोफोनिक प्रविधिबाट सागको खेती गरेका छन भने त्यससँगै माछा पनि पालेका छन ।

उनको सोताङ अग्र्यानिक कृषि फर्ममा राईका बुवा, आमा, श्रीमती र छोराले पनि सहयोग गर्छन् । त्यसबाहेक उनले १६ जनालाई रोजगारीसमेत दिएका छन । हालसम्म कृषि क्षेत्रमा उनको लगानी नै करोडौँ पुगिसकेको छ । उनले धरान-७ शान्तिपथमा तरकारी तथा फलफूल बिक्री गर्न पसल पनि सञ्चालन गरिरहेका छन । त्यसबाहेक घरमै किन्न आउनेहरु पनि उत्तिकै हुन्छन् । तरकारी, फलफूल तथा पशुपालनबाट मासिक रु १२ लाखको हाराहारीमा कमाई भइरहेको उनी बताउँछन ।

पचपन्न रुपैयाँबाट सुरु

अहिले करोडौँको लगानी पुगेको राईको कृषि फर्मको सुरुआत भने जम्मा ५५ रुपैयाँ लगानीबाट भएको थियो । उनी भन्छन, “सुरुमा ५५ रुपैयाँ लगानी गरेर कृषि क्षेत्रमा लागेको थिएँ, त्यहि फैलिँदै अहिले करोडौंको भएको हो ।”

सामान्य आर्थिक अवस्थाको कृष्णको परिवारसँग पहिला जम्मा छ कट्ठा जग्गा मात्र थियो । त्यसैमा बावुले परम्परागत कृषि कर्म गर्दै आएका थिए । खासै राम्रो उब्जनी हुँदैनथ्यो । त्यसबाट जीवन धान्न नै मुस्किल पर्ने अवस्था थियो । करिब २६ वर्षअघि कृष्णले स्कुलबाट फर्किने क्रममा बाटोमा एक जना मान्छेले काँक्राको बीउ किनिरहेको देखे । त्यसपछि बीउ बेच्नेसँग सोधखोज गर्दा राम्रो फल्ने काँक्राको बीउ हो भन्ने जानकारी पाए । “त्यसपछि मैले पनि १० रुपैयाँमा १८ वटा काँक्राको बीउ किनेर ल्याएँ”, उनी सम्झिन्छन, “त्यो बीउलाई मलजल गर्दा जम्मा लगानी ५५ रुपैयाँ पुगेको थियो । त्यसबाट फलेका काँक्रा बिक्री गर्दा पाँच सय ५० रुपैयाँ कमाएँ । त्यहीँबाट कृषिमा सम्भावना रहेछ भन्ने बुझेर लागि परेको हुँ ।”

कृषिलाई परम्परागतबाट आधुनिक तरिकाले अघि बढाउने सोंच भएपनि तालिमको अवसर थिएन । उनका लागि त्यसबेला रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्रशारण हुने कृषि कार्यक्रम नै तालिम बने । ती कार्यक्रम नियमित सुन्ने र हेर्ने गर्न थाले । पत्रपत्रिकामा कृषिका समाचार देख्ने बित्तिकै पढ्न थाले । उनी भन्छन, “कसैले खेतीपातीका विषयमा कुरा गरेको सुनें भने ध्यान दिएर सुन्थे, कतै पत्रपत्रिकामा कृषिकाबारे लेखिएको भेटे, घरमा ल्याएर मज्जाले पढ्थें । मेरा गुरुहरु तिनै थिए ।”

खेती र पशुपालन गर्दा समस्या नआउने कुरै भएन, उनले पनि धेरै रोग र विभिन्न समस्या भोगे तर समस्यासँग कहिल्यै हार मानेनन् । यसरी सिक्दै अघि बढाएको कृषि कर्म अहिले उनी अरुलाई पनि सिकाउँछन । उनले केही वर्षअघि बसन्तटारमा रु ८५ लाख लगानी गरेर आधुनिक कृषि तालिम केन्द्रका लागि भवन निर्माण गरेका छन । कृषिसम्बन्धी विभिन्न तालिम यसैमा सञ्चालन गर्छन । उनको कृषि फर्ममा अध्ययन भ्रमणमा टाढादेखिका कृषकहरु पनि आउने गरेका छन् । उनी भन्छन, ‘‘अहिले खेतीपाती र पशुपालन गर्ने तरिका मात्र होइन, आफ्ना उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण पनि दिंदै आएको छु ।’’

अर्गानिक गाउँ

धरान उपमहानगरपालिका-४ मा पर्ने बसन्तटार गाउँ अर्गानिक खेतीका लागि चर्चित छ । यो गाउँमा कृषिलाई व्यवसायीकरण गर्नमा कृष्णकै ठूलो योगदान छ । उनकै प्रेरणाले गाउँभर अहिले कृषि फर्महरु खुलेका छन् । कृषिबारे बुझ्न आउनेहरुका लागि यो गाउँ पाठशाला जस्तै बनेको छ ।

कृष्णले आफ्नो खेतबारी मात्र होइन पूरा गाउँलाई नै अर्गानिक बनाउन निक्कै मिहिनेत गर्नु परेको थियो । अन्य गाउँलेले जस्तै कृष्णले पनि सुरुका वर्षमा धेरै उत्पादन हुने लोभमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग गरेका थिए । तर केही वर्षमा माटोको उर्वरा शक्ति हराएर उब्जनी घट्न थाल्यो । त्यसपछि उनले किन यस्तो भयो रु भनेर कारण खोजे । धेरैतिर बुझ्दा थाहा भयो, रासायनिक मल र विषादीको प्रयोगले माटोको उर्वरा शक्ति नै हराउने रहेछ ।

बारीमा रासायनिक मल र विषादी प्रयोग गरेर आफैंले गल्ति गरेको महशुस गरी उनले त्यसलाई सुधार्ने बाचा गरे । तर बिग्रिएको माटो सुधार गर्नु त्यति सजिलो काम थिएन । त्यसका लागि निक्कै मिहिनेत गर्नु परेको उनको अनुभव छ । माटो सुधार्नका लागि त्यसपछि कृष्णले आफैं जैविक मल उत्पादन गर्न थाले । जैविक वनस्पतीकै विषादी बनाए । जैविक मल र विषादी बनाउने काम अहिले पनि गरिरहेका छन । उनी भन्छन, ‘‘रासायनिक मल र विषादी हाल्नु हुन्न भन्ने बुझेपछि म अग्र्यानिक खेतीका अभियन्ता बनेको हुँ ।’’

अर्गानिक खेती गर्नका लागि आफ्नो बारीमा मात्र रासायनिक मल र विषादी प्रयोग नगरेर हुने अवस्था थिएन । उनी भन्छन, ‘‘मैले मेरो बारीमा त रासायनिक मल र विषादी प्रयोग गरिन तर गाउँमा अरुले प्रयोग गरेपछि त्यसको असर मेरो बालीमा पनि पर्ने रहेछ । त्यसो हुँदा अर्गानिक खेती गर्न सम्भव नदेखिएपछि अरुलाई पनि बुझाउने कोसिस गरें र सफल पनि भएँ ।’’

अहिले उनको पाइला पछ्याउँदै बसन्तटार गाउँका एक सय ५० घरघुरीले अर्गानिक खेती गर्छन् । त्यसमध्ये ५५ घरको मुख्य आम्दानीको स्रोत अर्गानिक कृषि नै रहेको उनी बताउँछन । बसन्तटार अहिले कृषि अभियन्ताहरुका लागि सिकाइको थलो बनेको छ । कृषिबाट राम्रो आम्दानी गर्नुका साथै अरुका लागि प्रेरणाका स्रोत समेत बनेका कृष्णलाई विभिन्न सङ्घसंस्थाले सम्मान समेत गरेका छन् । परिवारसहित कृषिमै रमाइरहेका राई भन्छन, “कृषिमा अलि मेहनत आवश्यक पर्छ तर सम्भावनै छैन भन्ने कुरा गलत हो । पलायन हुनुभन्दा युवाहरुले आफ्नै ठाउँमा पसिना बगाए देश समृद्ध बन्छ, कसैले पनि परिवार पाल्न विदेश भौंतारिनुपर्ने अवस्था आउँदैन ।” रासस

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ०९ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म