११ असार २०८३, बिहिबार | June 26, 2026

रुसी सेनाबाट भागेर स्वदेश फिर्ता भए कञ्चनपुरका सिंह



कञ्चनपुर । रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनले भने, “त्यसपछि भागेर हिँडे ।”

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । घर फर्किंदा भने रित्तो हात फर्केका छन् । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०÷३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भुँवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । उनका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।

“त्यहाँको अवस्था देख्दा बाँचिएला भन्ने सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन्, “दैनिक ५०÷६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन् । “तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनी सुनाउँछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : २६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा