१९ बैशाख २०८१, बुधबार | May 2, 2024

उग्र निराशा तथा नकारात्मकताकालाई सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ : प्रधानमन्त्री



लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् ।

विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।

“राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ”, प्रधानमन्त्री प्रचण्डले भने, “गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर एक सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भैसकेको छ ।”

जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

उनले आध्यात्मिक जागरण र साधनाबिना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरेपनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए ।

“भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसङ्कल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।”

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

“यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक सङ्क्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या बेहोरिसक्यौँ”, प्रधानमन्त्री प्रचण्डले भने । आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उनले त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताए ।

‘जीवन रुपान्तरणका लागि अर्को क्रान्ति आवश्यक’
प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनःसंरचनामा हामी सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका छन् ।

“मैले केही समय पहिला सम्राट अशोक बन्ने समय आएको भाव व्यक्त गरेको थिएँ, जुन मेरो अन्तरआत्माको आवाज थियो”, प्रधानमन्त्री प्रचण्डले भने, “मैले आध्यात्मिक रुपान्तरणको खाँचो रहेको महसूस गरेको छु, म यो भूमिबाट यसतर्फ जिम्मेवारी बोध भएको भावना व्यक्त गर्दछु ।”

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो रूपान्तरणका लागि कुनै पुरातनवादी धार्मिक राज्यको रूपमा नभएर दीगो शान्ति, सुशासन र सुव्यवस्थालाई सुनिश्चित गर्ने कल्याणकारी वैज्ञानिक आध्यात्मिक राज्यको रूपमा हुनुपर्ने आफ्नो विश्वास रहेको स्पष्ट पार्नुभयो ।

“प्रत्येक व्यक्तिभित्र रहेका प्रतिभा, क्षमता र सम्भावनालाई कुनै पनि धर्म, सम्प्रदाय, जाति र वर्गको घेराभन्दा माथि उठेर आध्यात्मिक रूपान्तरणबाट मात्र यो सम्भव हुन्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “अबको दशक प्रवेशसँगै नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्मको प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्रलाई अवधारणगत र संरचनागत सुधार गरी नेपाललाई विश्व अध्यात्मको राजधानी, आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।

उनले देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिनका लागि सबैको सामुहिक प्रयास, प्रतिबद्धता र अठोट आवश्यक रहेको उल्लेख गरे ।

उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वलाई नेपाल एउटा योगभूमि र तपोभूमि भएको र नेपालीहरू योगी र ध्यानी छन् भन्ने सन्देश दिँदै योग तथा आध्यात्मिक पर्यटनको हबको रूपमा नेपाललाई विकास गर्न यस्ता कार्यक्रमबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ५१ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका