१९ बैशाख २०८३, शनिबार | May 3, 2026

आजदेखि बिस्काः जात्रा सुरु, भक्तपुरमा सुरक्षा व्यवस्था कडा



भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।

आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन् । उनले भनिन्, “आज बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, आज गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरिन्छ, त्यसपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिने छ, यसवर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ ।”

तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।

विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताइन् ।

विगतका वर्षहरुमा रथमा जथाभावी मानिस बस्ने गरे पनि यस वर्ष भने रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने उनले बताइन् ।

आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताइन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताइन् । उनले भनिन्, “जात्राको रथ तान्न ३ बजे सुरु गरेर ६ बजेसम्म सम्पन्न गर्ने तयारी गरेका छौँ, जात्रामा सिसी क्यामराबाट प्रहरीले अनुगमन गरिरहेको हुन्छ, जात्रामा खटिएका सादा पोसाकमा सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको हुन्छ, स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि नै बस्छन्, हूलदङ्गा भयो भने र आवश्यकता हेरेर मात्रै सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।”

उनले नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको उनले बताइन् । जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हूलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताइन् । जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरीको मद्दत ल्याइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : ३२ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय