बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले भवनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख पाण्डेयले नवनिर्मित भवनबाट वडावासीलाई सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने बताए । उनले वडा नम्बर १९ मा वडा कार्यालय भवन निर्माणसँगै सडक, सिँचाइ, कृषि तथा स्वरोजगारमूलक सीप विकास तालिमका लागि उपमहानगरपालिकाले उल्लेख्य बजेट खर्च गरेको जानकारी दिए । आगामी दिनमा पनि वडाको विकास र जनताको आवश्यकताअनुसार सहयोग जारी रहने उनले विश्वास व्यक्त गरे ।
उपप्रमुख सावित्रादेवी अर्यालले भवन निर्माण गर्नु मात्रै उपलब्धि नभई त्यसबाट नागरिकले सहज र प्रभावकारी सेवा प्राप्त गर्नुपर्ने बताइन् । जनताले सहज रूपमा सेवा पाउन सकेमा मात्रै भवन निर्माणको औचित्य पुष्टि हुने उल्लेख गर्दै उनले सेवाप्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।
वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिं थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, पूर्वाधार शाखा प्रमुख इन्जिनियर मोहराज पौडेल, वडा सदस्य लक्ष्मी थारू र वडा सचिव मेघराज काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा सचिव काफ्लेका अनुसार २ करोड ७३ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन तथा ३५ लाख रुपैयाँको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको हो ।
















प्रतिक्रिया