१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

भारवाङमा मोटरेबल पुल निर्माण



म्याग्दी । पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका-७ र धवलागिरि गाउँपालिका-७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्टे«स प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणसँगै धवलागिरि गाउँपालिका-५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जानआउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।

“पहुँचमार्ग निर्माणलाई पूर्णता दिन बाँकी रहेको पुलमा सवारीसाधन आवतजावत गर्न थालेका छन्”, उनले भने, “यो पुलले धवलागिरिको ५, ६ नं वडामा पर्ने मराङ र मल्कबाङवासीलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको छ ।”

मराङका बासिन्दा हाल मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जाने घुमाउरो सडक प्रयोग गर्छन् । पुलले मालिका गाउँपालिका-७ का बिमवासीलाई पनि ताकम, मुनालगायतका बस्तीमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको छ ।

म्याग्दीखोलामा पुल बनेसँगै पुलबाट ताकम गाउँसम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने जनाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार सो पुल निर्माणका लागि विसं २०७६ साउन ८ गते देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड ९६ लाख ४३ हजार तीन सय ५३ मा ठेक्का सम्झौता भएको थियो ।

पुलको सबै संरचना निर्माण सम्पन्न भई पहुचमार्गको निर्माण थालिएको र जेठभित्रमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न मिल्ने उनले बताए । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भए पनि दोस्रोपटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको बताए ।

बेनी-दरवाङ-बिम-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका-७ को शिवरात्रि खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का आह्वान गरेको छ ।

सङ्घीय र प्रदेश सरकारको साझेदारीमा सोही सडक स्तरोन्नति गर्न आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी रु ९२ करोडको योजनाका लागि बजेट व्यवस्थापन भएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिए । उनका अनुसार दरवाङ-धारापानी खण्डको छ किलोमिटर ग्राभेल र धारापानी-शिवाङ खण्डको चार किलोमिटर कालोपत्र गर्न यस वर्ष ठेक्का सम्झौताको तयारी भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ८ : २० बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३