२ श्रावण २०८३, शनिबार | July 18, 2026

कहाँ पुग्यो अरुण-३ जलविद्युत् आयोजना निर्माण ?



सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी)को करिब रु एक खर्ब लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।

आयोजनाबाट नौ सय मेगावाट विद्युत् उत्पादन हुनेछ । जसबापत नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् करिब दुई सय मेगावाट निःशुल्क प्राप्त गर्नेछ भने बाँकी भारत निर्यात हुनेछ । बिजुली उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना नेपालको हुनेछ । विद्युत् उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ ।

आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ ९हेडरेस टनेल०को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत् उत्पादन हुने जानकारी दिए। “काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ”, उनले भने।

सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरुप सहयोगको अपेक्षा गरेको उल्लेख गर्नुभयो । उनले भने, “आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।”

शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । “उच्चस्तरीय समिति गठन गरी लगानी बोर्ड र सम्बन्धित मन्त्रालयका सचिवसम्मिलित समूहसँग मासिक रूपमा बैठक बस्ने र आजोजनाको समीक्षा गरी समयमै निर्माण सम्पन्न गर्ने विषयमा म सरकारसमक्ष आग्रह गर्दछु”, उनले भने।

आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ । यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ ।

आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा संयुक्त रूपमा गर्नुभएको थियो । विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो ।

सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए। उनले उक्त आयोजना सञ्चालनमा आएपछि मुलुकको विद्युत् व्यापारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युत्सहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए । “आगामी आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने, विद्युत् प्रसारण लाइन निर्माण र वितरणमा निजी क्षेत्रसमेत सहभागी हुनेगरी कानुनी प्रबन्ध गर्ने, जलाशययुक्त आयोजनामा बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट निर्माण गर्नेगरी निजी क्षेत्रको लगानी आकर्षित गर्ने प्रावधान बजेटमा समेटिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने ।

त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए । साथै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : २५ बजे

प्रचण्डले सम्झिए लोकतन्त्र र नागरिक अधिकारका लागि स्वर्गीय देवेन्द्रराज पाण्डेको योगदान

काठमाडौं। नागरिक आन्दोलनका अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३