७ आश्विन २०८३, बुधबार | September 23, 2026

वर्षायाम प्रारम्भ भएसँगै गौरीगञ्जवासीमा बाढीको त्रास



झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका-१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ ।

गाउँ नजिकबाट बगेको कनकाईमा बाढी आउँदा वर्षौँदेखि गाउँ डुबानमा पर्दै आएको उनले सुनाइन । होक्लाबारीका अधिकांश बासिन्दा विपन्न छन् । वर्षा सुरु भएसँगै त्रसित उनीहरू कनकाईमा पानीको सतह बढेको नियालिरहन्छन् । राति निद्रामा रहेका बेला बस्तीमा बाढी पस्ने पीरले उनीहरू निश्चिन्त निदाउन सक्दैनन् । प्रत्येक वर्षको वर्षायाम यसरी नै बित्ने गरेको छ ।

बस्तीमा बाढी पस्न नदिन भरपर्दो बाँधको व्यवस्था नहुँदा बर्सेनि सास्ती झेल्नु परेको वडा नं १ का सदस्य राजभक्त सुनुवारले बताए । विसं २०७४ देखि नै जनप्रतिनिधि बनेका उनले नदीकटान र बाढी नियन्त्रण रोक्न प्रदेश र सङ्घीय सरकारको सहयोग नहुँदा समस्या भएको बताए । उनले जनताको तटबन्धन कार्यक्रममार्फत बाँध बाँध्न पटकपटक माग गर्दा सुनुवाइ नभएको गुनासो गरे । “हाम्रो पीडा कसले बुझ्ने ?, पालिकाको थोरै बजेटले बाँध बनाउन पुग्दैन”, उनले भने, “कुन बेला खोलामा बगेर मरिएला भन्ने त्रासमै बित्ने गरेको छ बर्खा ।”

होक्लाबारी बाढीजन्य विपद्को उच्च जोखिम भएको बस्ती हो । सो क्षेत्रका एक सय तीन परिवारलाई पूर्वमा कनकाई र पश्चिममा कमल बनियानी खोलाले घेरेको छ । यी दुईले एक सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएको गौरीगञ्जकै सिमलडाँगी, टप्पुबस्ती र कुञ्जीबारीमा हरेक वर्षायाममा आतङ्क सृजना गर्दै आएका छन् ।

बस्तीमा बाढी पस्नेबित्तिकै होक्लाबारीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इन्द्रेणी आधारभूत विद्यालयलाई आश्रयस्थल तोकिएको वडा सदस्य सुनुवारले बताए । उक्त विद्यालय नै कनकाई र कमल बनियानीको बाढीको चपेटामा पर्नसक्ने उनले बताए ।

बर्खाका बेला होक्लाबारी क्षेत्रमा आवागमनका लागि डुङ्गा नै चलाउनुपर्ने बाध्यता छ । पालिकाले सो क्षेत्रका बासिन्दाको सुविधाका लागि डुङ्गाको व्यवस्था गरिदिएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलमति राजवंशीले गौरीगञ्जको वडा नं १ र २ अन्य वडाको तुलनामा बढी विपद्को जोखिममा रहेको बताइन । उनले वर्षाका कारण हुने विपद्को पूर्वतयारी पूरा गरिसकेको जानकारी दिइन । “आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सबै सावधानीको तयारी गरेका छौँ”, उनले भनिन, “राहत कोष र आवश्यक विपद् सामग्रीको तयारीसँगै प्रभावित क्षेत्रको अवलोकनसहित तथ्याङ्क सङ्कलन गरिसकेका छौँ ।”

अध्यक्ष राजवंशीले स्थानीय सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँग विपद् व्यवस्थापन संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिइन । वडा नं १ कै कुञ्जिबारी, टाप्पुबस्ती, बिर्खेबस्ती, माझीगाउँ पनि बाढीको उस्तै त्रासमा रहेको छ । जिल्लाका झापा, कचनकवल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा कनकाई नदीमा आएको बाढी गाउँमा पस्दा स्थानीयवासी विस्थापित हुन थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका १५ स्थानीय तहका नौ हजार नौ सय १९ परिवार बाढीको उच्च जोखिममा रहेका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  १० : १६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई