काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन ।
२०७९ पुस १० गते पहिलो पटक नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले पाँचौपटक विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । त्यसलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रधानमन्त्रीले विश्वासको मत लिन लागे पनि उनको प्रस्ताव भने पारित हुने देखिँदैन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको ६३ सिट छ । विपक्षमा कांग्रेस, एमाले, राप्रपासहितका अन्य साना दल उभिएका छन् ।
यसअघि प्रचण्डले २०७९ पुस २६, २०७९ साल चैत ६, २०८० साल फागुन ३० र २०८१ साल जेठ ७ गते विश्वासको मत लिएका थिए ।



















प्रतिक्रिया