२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी



मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य)

तनहुँ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका-४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भयो ।

भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताए । भानुगृहको खाका तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उनको भनाइ छ । कार्यकारी निर्देशक रानाभाटले भने, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल ग¥यौँ, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।”

भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने उनले बताए ।

विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ ।

यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित हुनुभयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास छ”, उनी बताउँछन ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गरेका थिए । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिका-४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुन । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छ भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

भानु जयन्तीमा आज विशेष कार्यक्रम

दुई सय एघारौँ भानु जयन्तीको अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछन् । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

सोही अवसरमा रामायण वाचन तथा कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : १२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले