२९ भदौ २०८३, सोमबार | September 14, 2026

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो



पोखरा ।
“भर् जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।।

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो ।।”

नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै चासो र चर्चामा छ । तनहुँको चुँदी रम्घामा जन्मेर नेपाली भाषा र साहित्यका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका भानुभक्तले नेपाली साहित्यको प्रारम्भिक चरणमा कविता र काव्यका माध्यमबाट नेपाली साहित्याकाशमा ठूलो गुन लगाएका छन् ।

नेपाली भाषाको एकीकरणकर्ताका रूपमा रहेका उनले आजभन्दा दुई शताब्दी अघि तत्कालीन समयको सांस्कृतिक, धार्मिक र सामाजिक विशिष्टतालाई आफ्ना रचनामा उतारेका त छन् नै नेपाली भाषाको समुन्नतिसँगै राष्ट्रिय एकता र सद्भावका लागि पनि अतुलनीय योगदान पुर्‍याएका छन् ।

भानुका योगदानलाई जीवन्त राख्नका लागि भानु जन्मस्थल विकास समिति निरन्तर रूपमा लागिरहेको समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए । भानु जन्मस्थलको संरक्षण र विकासका लागि २०३३ सालमा गोपाल पाण्डे (असिम), धरणीधर कोइराला लगायतका साहित्यप्रेमी आएर उनका सन्ततिसँग जग्गा मागेर भानु सङ्ग्रहालय स्थापना गरेको उनले जानकारी दिए ।

उक्त क्रममा उनका सन्ततिसँग मागिएको करिब चार रोपनी क्षेत्रफलमा विभिन्न पूर्वाधार निर्माणसँगै सङ्ग्रहालय स्थापना गरिएको थियो । उक्त जग्गा भानु स्मारक सङ्ग्रहालयकै नाममा रहेकामा २०५२ सालमा भानु जन्मस्थल विकास समिति गठन भएपछि उक्त जग्गा समिति मातहत रहेको छ ।

सङ्ग्रहालयमा रहेको पुस्तकालयमा भानुभक्तका सन्नतिबाट प्राप्त २०० भन्दा पुराना भानुभक्त स्वयम्ले लेखेका रामायण र वधुशिक्षाका पाण्डुलिपि राखिएको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । उक्त सङ्ग्रहालयमा भानुभक्तकालीन अन्य विभिन्न सामग्रीहरू पनि रहेको जानकारी दिँदै उनले ती सामग्रीहरूको पुरातात्विक प्रमाणीकरण गर्न भने बाँकी रहेको बताए ।

सङ्ग्रहालयमा रहेका रामयाण र वधुशिक्षाको पाण्डुलिपि कसरी जोगाउने भन्ने चिन्ता भने आफूहरूमा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । “यी पाण्डुलिपि झुत्रा हुन् र किराले खानबाट कसरी जोगाउने भन्ने विषयले हामीलाई चिन्तित बनाएको छ”, उनले भने, “संरक्षणका लागि माइक्रोफिल्मिङ गरी राख्ने प्रयास गरिए पनि साधनस्रोतको अभाव आदिका कारण अहिलेसम्म हुन सकेको छैन ।” यी ऐतिहासिक महत्त्वका पाण्डुलिपिको संरक्षणमा राज्यको नै चासो पुग्नु जरुरी रहेको समितिका अध्यक्ष श्रेष्ठले उल्लेख गरे ।

भानुभक्तको रामायण केवल धार्मिक ग्रन्थ मात्र नभई यो नेपाली भाषाको साहित्यिक प्रगतिको एक सेतु रहेको साहित्यकार डा अशोक थापा बताउँछन् । भानुभक्तको रामायणले भाषा प्रयोगका नयाँ आयामहरू खुला गरिदिएको बताउँदै उनले नेपाली साहित्यमा मौलिकता र रचनात्मकतालाई अघि बढाउनका लागि यसको विशेष योगदान रहेको बताए ।

नेपाली भाषालाई केवल सम्प्रेषणको माध्यम मात्र नभई कला र संस्कृतिको सुनौलो मोतिका रूपमा भानुक्तले स्थापित गरिदिएको साहित्यकार थापाको भनाइ छ । नेपाली भाषामा पनि उत्कृष्ट साहित्य सिर्जना हुन सक्छ भन्ने कुरालाई रामायणले चरितार्थ पारिदिएको बताउँदै उनले भानुभक्तका रचनाले नेपाली भाषी जनतामा भाषिक गौरव र राष्ट्रिय पहिचानको भावना जगाएको बताए ।

भानुभक्तको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार भानुभक्तकै नामबाट पालिकाको नाम नै भानु नगरपालिका रहेको छ । भानु जन्मस्थलको समग्र गुरुयोजना नगरपालिकाले तयार गरिरहेको छ ।

यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी रु २० करोड विनियोजन भइसकेको जानकारी दिँदै प्रमुख त्रिपाठीले उक्त रकमबाट ५४ फिट अग्लो भानुभक्तको मूर्ति निर्माणसँगै विभिन्न ६० वटा साहित्यिक स्रष्टाको सालिक निर्माण गरिने बताए ।

त्यस्तै यहाँको रम्घा डाँडासम्मको बाटोको स्तरोन्नति गर्न लागिएको छ । सहरी विकास मन्त्रालय तथा सहरी विकास विभागमार्फत यी कामहरू अघि बढाउने र यसमा नगरपालिकाका तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।

जन्मस्थलको विकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो दिनुुभएको बताउँदै प्रमुख त्रिपाठीले नगरपालिकाले पनि त्यसलाई उच्च प्राथमिकताका साथ विकास गर्न खोजेको बताए । “भानुभक्त देशभित्र रहेका मात्र नभई विश्वमा छरिएका सबै नेपाली र नेपाली भाषाप्रेमीले सम्झने महत्त्वपूर्ण पात्र हुन्”, उनले भने ।

भाषा, साहित्य र संस्कृतिका लागि भानु जन्मस्थल चुँदीरम्घा आफैँमा खुला सङ्ग्रहालय भएको बताउँदै उनले भानुभक्तका योगदानलाई समेटेर यस स्थललाई विश्वकै साहित्यानुरागीहरूको प्रतिष्ठित साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने योजना रहेको बताए । यहाँको विकाससँगै यो क्षेत्र साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  २ : ५० बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको