२ असार २०८३, मंगलबार | June 17, 2026

बुटवल-गोरुसिङ्गे सडक बिस्तारमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई बिष्णु पौडेलको चेतावनी



बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु प्रसाद पौडेलले बुटवल-गोरुसिङ्गे सडक बिस्तारको काममा कुनै पनि प्रकारको ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई कडा आग्रह गरेका छन् ।

बुटवल-१३ बेलबास क्षेत्रमा विस्तार हुँदै गरेको सडक आयोजनास्थलमै आयोजित कार्यक्रममा बोल्दै पौडेलले सडकजस्ता ठूला पूर्वाधार योजनाको शिलान्यास हुँदा जनता खुसी भए पनि काममा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष मार जनताले खेप्नुपर्ने अवस्था सिर्जना हुने बताए । त्यस्तो अवस्था दोहोरिन नदिन आफूले बुटवल-गोरुसिङ्गे सडक बिस्तारको कार्यप्रगतिमा दैनिक निगरानी गरिरहेको उनले उल्लेख गरे ।

“जनतालाई सकेसम्म कम समस्या हुने गरी काम गर्नुपर्छ र निर्धारित समयमै योजना सम्पन्न हुनुपर्छ,” पौडेलले भने, “सडक विस्तार जनताको दैनिकीसँग जोडिएको विषय भएकाले कुनै पनि बहानामा ढिलाइ स्वीकार्य हुँदैन ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर-२ बाट उम्मेदवार बनेका पौडेलले बुटवल-१३ मा निर्वाचन कार्यालय उद्घाटनपछि आयोजित सभामा रुपन्देहीलाई विकासको नमूना जिल्लाका रूपमा स्थापित गर्ने आफ्नो योजनाबारे स्पष्ट पारे । उनले भाषणभन्दा कामबाट विकास देखाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

“रुपन्देहीको विकासका लागि के-के आवश्यक छन् भन्ने कुरा तपाईंहरूले जनतासामु प्रतिवद्धता गर्नुस्, ती प्रतिवद्धता पूरा गर्ने जिम्मा मेरो भयो,” पौडेलले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै भने, “यहाँ भएका विकासका कामहरू नै हाम्रो उपलब्धि हुन् । अब धेरै बोल्नु पर्दैन, काम गरेर देखाउने हो ।”

पौडेलले आफू अर्थमन्त्री हुँदा तिनाउ पुलमा ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि थालेको पहल कार्यान्वयनको चरणमा पुगेको जानकारी दिँदै सो परियोजना टेन्डर प्रक्रियामा अघि बढिसकेको बताए । त्यसका लागि आवश्यक बजेटको समेत व्यवस्था भइसकेको उनको भनाइ छ ।

यसैगरी बुटवलदेखि पोखरासम्मको यात्रा समयलाई दुई घण्टामा सीमित गर्ने लक्ष्यसहित सडक बिस्तारको योजना अघि बढेको जानकारी गराउँदै उनले रुपन्देहीलाई विकसित र पर्यटकीय सहरका रूपमा स्थापित गर्ने दीर्घकालीन सोच रहेको बताए ।

भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र मानवीय विकासमा पनि समानान्तर रूपमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै पौडेलले संरचना मात्र बनाएर जनताको आवश्यकता पूरा नहुने स्पष्ट पारे । “अबको मेरो प्राथमिकता रोजगारी सिर्जना र स्वरोजगार प्रवर्द्धन हो,” उनले भने, “यही बाटोले मात्र जनताको जीवनस्तर माथि उठाउन सकिन्छ ।”

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  २ : ३३ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ