६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

‘मगर खाम भाषा’ सङ्कटमा परेपछि बूढापाका चिन्तित



ढोरपाटन । यहाँ बोलिने ‘मगर खाम भाषा’ सङ्कटमा परेसँगै लोप हुने जोखिम बढेको छ । बढ्दो सहरीकरण, विदेश पलायन, आधुनिकीकरणलगायत कारणले भाषा सङ्कटमा पर्न थालेपछि लोप हुने जोखिम बढेको भन्दै बूढापाका चिन्तित भएका हुन् ।

आठार मगरातअन्तर्गत जिल्लाको निसीखोला गाउँपालिका-५ र ६ मा बोलिने यो भाषा पछिल्लो समय कम प्रयोग हुन थालेको छ । युवा विदेश र बालबालिका सहर बजार झर्न थालेपछि ‘मगर खाम भाषा’ कम बोल्न थालिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।

पछिल्लो समय गाउँमा बूढापाका मात्रै बस्ने र यो भाषा बोल्ने गरेका छन् । एकदशक अगाडिसम्म ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पनि खाम भाषा बोल्ने गरिएकामा अहिले प्रयोग हुन छोडेको निसीखोला-६ का भक्तबहादुर बुढा मगरले बताए । बिस्तारै निसीखोलामा पनि भाषा हराउँदै जाने जोखिम बढेकामा उनले चिन्ता व्यक्त गरे ।

भाषासँगै पश्चिममा संस्कृतिको प्रभावले मौलिक कला र संस्कृति पनि लोप हुन थालेको बूढापाका बताउँछन् । यसलाई संरक्षण गर्नुपर्ने दायित्व स्थानीय सरकारले गर्नुपर्नेमा उनीहरुले जोड दिए । मगर खाम भाषा मगर समुदायले मात्रै नभई निसीखोलामा दलित समुदायका स्थानीयले पनि बोल्ने गर्दछन् । “पहिलेपहिले लेकबेँसी र घाँसदाउरा गर्दा मगर खाम भाषामा गीत गुनगुनाउने गरिन्थ्यो । अचेल नयाँ पुस्तालाई कुराकानीमा पनि समस्या हुने गर्दछ”, भक्तबहादुरले भने । यो भाषा आफ्नो समुदायको पहिचान, संस्कृति र आस्था भएको उनले बताए ।

एक दशक अगाडिसम्म गाउँका सबैले मगर खाम भाषामा कुराकानी गर्नेमा अहिले बोलचाल पनि कम हुँदै गएको भक्तबहादुरले बताए । कहिलेदेखि बोल्दै आएको यकिन दस्तावेज नभए पनि सयौँ वर्ष पुरानो रहेको उनले दाबी गरे । गाउँमा विकास आएपछि धेरैले यो भाषा बोल्न छोड्दै गएका बताउँदै ७१ वर्षीय भक्तबहादुरले आफ्ना छोराछोरीले मातृ भाषा राम्रोसँग बोल्न सके पनि नाति पुस्ताले बोल्न छोडेका उल्लेख गरे ।

“हाम्रा बाउबाजेले नेपालीभन्दा पनि सबै खाम भाषामा बोल्दथे । हामीहरुले उहाँहरुबाट सबै कुरा सिकेर त्यस्तै अनुसरण गर्यौँ । बिस्तारै नेपाली भाषा पनि बोल्न थालियो, अहिले युवा पुस्ताले खाम भाषा बोल्न मान्दैनन्”, उनले भने, “हामी गाउँ छोडेर कतै गएनौँ, मातृ भाषामा गीत गाउँदै, नाच्दै खेतीपातीको काम गथ्र्यौं । अहिलेका युवा पुस्ता उच्च शिक्षा, रोजगारीलगायत बहानामा सहर बजार झर्छन् । उति बस्ने, पढ्ने र उतैको भाषा बोल्छन्, हाम्रो भाषा हराउँदै गयो ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले मगर खाम भाषा संरक्षणका लागि विद्यालय स्तरबाट लाग्नुपर्ने बताउँदै यसका लागि पालिकाले पाठ्यपुस्तकमा समावेश गर्ने योजना बनाइरहेको जानकारी दिए । पालिकाले मगर खाम भाषामा पाठ्यपुस्तक तयार गरिसकेको भन्दै आगामी भदौदेखि पठनपाठन थाल्ने योजनामा रहेको उनले बताए ।

यो भाषा संरक्षणका लागि राज्यले प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्ती मगरले जोड दिए । पालिकाले नयाँ पुस्तालाई खाम भाषा बोल्न प्रेरित गरिरहेको बताउँदै समुदायस्तरबाट यसको पहल हुनुपर्नेमा उनले जोड दिए ।

पहिलो जम्मेवारी परिवारको भएकाले परिवारले आफ्ना सन्तानलाई मातृ भाषा सिकाउनुपर्ने र जिम्मेवार बन्नुपर्ने अध्यक्ष मगरको भनाइ छ । भाषाको संरक्षण र प्रवर्द्धन गर्न परिवारले पनि सहयोग गर्नुपर्ने भन्दै भाषा संरक्षण भए हाम्रो कला, संस्कृति र रहनसहन लोप नहुने उनले विश्वास व्यक्त गरे ।

“अघिल्लो वर्षदेखि विद्यालयमा मगर खाम भाषाको पाठ्यपुस्त लागू गर्ने योजना थियो, प्रविधिक कारणले गर्न सकिएन”, अध्यक्ष मगर, “यस वर्ष जसरी पनि गर्छौं, बालबालिकालाई खाम भाषामा सांस्कृतिक कार्यक्रम गर्ने, गीत गाउने, बोल्न सिकाउने गर्न सकिन्छ । नियमित पठनपाठनका लागि शिक्षकको समस्या छ, निजी स्रोतबाट भए पनि शिक्षक व्यवस्थापन गरेर पठनपाठन गराउने छौँ ।”

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : ४७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको