२० बैशाख २०८३, आइतबार | May 4, 2026

परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता



न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विभिन्न देशका विदेशमन्त्री लगायतसँगको द्विपक्षीय भेटवार्तालाई जारी राखेकी छिन् ।

यसैक्रममा मङ्गलबार उनले दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरिन् ।

मङ्गलबार उनले दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग गरेको द्विपक्षीेय भेटवार्तामा दुई देश मित्रता, पारस्पारिक सम्मान र समझ्दारीमा आधारित सम्बन्धका साथ अघि बढेका र आगामी दिनमा सम्बन्धलाई थप प्रगाढ बनाउँदै लगिने विषयमा कुराकानी भएको थियो । त्यस भेटमा नेपाल कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे कुराकानी भयो ।

त्यसैगरी उनीहरुबीच यस बर्ष दुवै देशले मनाइरहेको नेपाल कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

परराष्ट्रमन्त्री डा राणाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण बर्षका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत् कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन् ।

भेटका क्रममा पछिल्लो समय इपिएस प्रणालीमार्फत् नेपाली नागरिकलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरुलाई समेत दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्री डा राणाले नेपाल सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिक लगायतका क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि मन्त्री डा राणाले सराहना गरेकी थिइन।

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेका थिए । नेपालमा प्रत्यक्ष लगानी गर्ने विदेशी राष्ट्रमध्ये दक्षिण कोरिया एक प्रमुख राष्ट्र हो । अघिल्लो आर्थिक बर्षमा मात्र नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो ।

त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले कोरियाको सहयोगका लागि आग्रह गरेका थिए ।

त्यसैगरी मन्त्री डा राणाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। सो भेटका क्रममा दुई देशको आपसी हित र साझा चासोका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा कुराकानी भएको थियो ।

साथै सो भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद, सुरक्षा परिषदलगायतमा उम्मेदवारी दिएकाले फिलिपिन्सको सहयोगका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : ११ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता