१६ माघ २०८२, शुक्रबार | January 30, 2026

युवायुवती विदेशिँदाको असर देउसीभैलोमा देखिन थाल्यो



म्याग्दी । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने बेनी बजारको सबै जसो चोक यसपटक रौनक कम भएको छ । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा चोकमा पालो कुर्नुपर्ने अवस्था हुन्थ्यो । यसपटक तिहार शुरु भएयता बेनी बजारमा देउसीभैलो खेल्ने जम्मा दुई वटा समूह मात्र छन् । बेनीको इन्द्रेणीचोकका व्यवसायी किरण कार्कीले यसपाली देउसीभैलोको रौनक नदेखिएको बताए ।

“देउसीभैलो खेल्न आएका कलाकार पनि १२ कक्षासम्म अध्ययन गर्ने उमेर समूहका र आमा समूहका मात्र छन,” उनले भने “१२ कक्षा उत्तीर्ण गरेका धेरै युवायुवती विदेशिँदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको हो ।”

सदरमुकाम बेनी बजार मात्र नभएर म्याग्दीका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् । बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएका लोक संगितकर्मी संघ म्याग्दीका अध्यक्ष गोकुल सुनारले बताए ।

“देउसीभैलोसँगै विभिन्न किसिमका गितमा नृत्य प्रस्तुत गर्न एउटा समूहमा २० देखि ३० जना कलाकार आवश्यक पर्छ,” द साइनिङ नृत्य समूहको देउसीभैलोमा सहभागी उनले भने “पुराना कालाकार विदेशिएपछि नयाँलाई तालिम दिएर नचाएका छौ ।”

कलाकार र युवा पलायनको असर
नाचगानमा राम्रो कला भएका राजकुमार परियार, गोकुल वि.क, सोनिया पुन, मिलन थापामगरलगायत म्याग्दीका कलाकारहरु पछिल्लो एक वर्षयता रोजगारीको शिलशिलामा विदेशिएका सुनारले बताए ।

जिल्ला बाहिरका सहर र विदेशमा रहेका म्याग्देलीहरुले भने तिहारको अवसरमा देउसीभैलो खेलेका छन् । पोखरामा म्याग्दी–पोखरा चौतारी, पोर्चुगल, बेलायत, अमेरिका, जापान, दक्षिण कोरीया, अस्ट्रेलीयालगायत देशमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा देउसीभैलो खेलीएको छ ।

भेला भएर आफ्नो जातीय पोशाकमा सजिएर मौलिक गीतमा नाचगान सहित देउसीभैलो देखिएको अमेरिकामा रहेका म्याग्दी ताकमका राहुल केसीले बताए । “बाध्यताले विदेशिनु परेपनि आफ्नो संस्कार र संस्कृति प्यारो लाग्दो रहेछ,” उनले भने “हाम्रो सन्तानहरुले चाडपर्व र संस्कृतिको बारेमा सिकुन भनेर पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएका छौ ।”

विसं २०७८ को जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार आठ सय ३० रहेकामा कुल जनसंख्या एक लाख सात हजार ३३ छ । २०६८ को जनगणनाअनुसार जिल्लाको कुल परिवार संख्या २७ हजार सात सय ६२ रहेकामा त्यतिबेला कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ थियो । पछिल्लो जनगणनामा परिवार सङ्ख्या बढे पनि जनसङ्ख्या घटेको छ ।

हाल जिल्लामा पुरुषको सङ्ख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ । जनगणनामा अनुपस्थित (विदेशमा बस्ने) जनसङ्ख्या कुल परिवार संख्यामध्ये आठ हजार तीन सय २० रहेकामा जनसङ्ख्या भने १० हजार सात सय ६६ रहेको छ ।

देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियो

पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ । संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार अमित विश्वकर्माले बताए ।

प्रविधिको उपयोग र आधुनिकताको अनुशरणसँगै मौलिकतालाई पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन, युवा क्लव, आमा समूह र विभिन्न संघ संस्थाले कोष स्थापनाको उद्देश्य राखेर देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोमा पौराणिक कथा प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ । देउसीभैलो खेल्न पुगेकाहरूले सम्बन्धित घरको वर्णन गर्दै आफूहरू आउनुको ऐतिहासिक कारण खोल्दै आशिषसमेत दिने चलन छ ।

घरधनीले पनि त्यस्ता समूहलाई गच्छेअनुसार फलफूल, रोटी र दक्षिणा दिने गर्दछन् । देउसी भैलोमा गाइने गीतमा बलिराजाको प्रसंङ्ग जोडिएको पाइन्छ । विभिन्न प्रसङ्ग र कथनसँग जोडिएको देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  १२ : १० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र