१५ असार २०८३, सोमबार | June 29, 2026

पकेट क्षेत्रकै सुन्तलामा औँसा कीराको प्रकोप



पर्वत । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ ।

पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताए ।

देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिए । उनका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ ।

गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाईँले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताए । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् ।

कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताए ।

“मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,” उनले भने, “अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो । अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।” ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताए ।

पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताए । थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताए ।

सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाट रु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १ : ०२ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै