३ असार २०८३, बुधबार | June 18, 2026

धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया



बागलुङ । धौलागिरि अस्पतालले पछिल्लो समय विशेषज्ञसहित विशिष्टिकृत सेवा दिन थालेको छ । धौलागिरि अस्पतालले दुई वर्षमा हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय सफल शल्यक्रिया गरेको हो ।

धौलागिरि अस्पतालमै ठूलो र सानो हड्डी रोगसम्बन्धी शल्यक्रिया गर्दा अधिकांश बिरामीलाई राहत भएको छ । यसअघि पोखरा र काठमाडौँ जानुपर्ने बिरामी स्थानीयस्तरमा उपचार पाएपछि यही रोकिन थालेका छन् । अस्पतालमा दुईजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा जटिल प्रकारका हड्डीको समेत प्रत्यारोपण गरिएको छ । बढ्दो सवारी दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी धेरै बिरामी अस्पतालमा आउन थालेका छन् । बिरामीले जिल्लामा सेवा पाउँदा खर्च र समय दुवैको बचत भएको प्रतिक्रिया दिएका छन् ।

हड्डीरोग विशेषज्ञ डा प्रमेश थापा र डा समीर लामिछाने तथा एनेस्थेसियोलोजिस्ट डा अमित ढुङ्गानाको समूहले दुई वर्षमा सात सयवटा हाडजोर्नी तथा नशासम्बन्धी शल्यक्रिया गरेको अस्पतालका मेडिकल अधिकृत डा सन्दीप केसीले जानकारी दिए ।

“अस्पतालमा आउने बिरामीमध्ये ३० प्रतिशत हाडसम्बन्धी समस्या लिएर आउनुहुन्छ । दुई जना विशेषज्ञ चिकित्सकलाई हप्ताकोे तीन दिन शल्यक्रियाको समय छुट्टाइएको छ”, केसीले भने, “आधुनिक जीवनशैली र बढ्दो दुर्घटनाका कारण हाडजोर्नीसम्बन्धी समस्या बढ्दै गएका छन्, अस्पतालले छिमेकी जिल्लाका बिरामीलाई समेत सेवा दिएको छ ।”

अस्पतालमा ‘हेमी हिप रिप्लेसमेन्ट’, ‘फिमर नेलिङ/प्लेटिङ’‘टिबिया नेलिङ÷प्लेटिङ’,‘ह्युमेरस’, ‘फोरआर्म’ र ‘क्लाभिकल प्लेटिङ’ तथा ‘एसी जोइन्ट पुनःनिर्माण’ लगायत जटिल प्रकारका शल्यक्रियासमेत सम्पन्न गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा प्रयाप्त उपकरण र दक्ष जनशक्तिका कारण लाखौँ खर्च लाग्ने शल्यक्रिया सरकारी अस्पतालमा सामान्य शुल्कमा भइरहेको छ । अस्पतालले ‘टेन्डन रिपेयर’, हात र खुट्टाका सामान्य शल्यक्रिया पनि गर्दै आएको छ । दुई वर्षयता बागलुङमा भएका पाँच ठूला दुर्घटनाका घाइतेको उपचार गरिएको अस्पतालले जनाएको छ ।

मङ्सिर १७ गते मात्रै अस्पतालको हड्डीरोग विभागले १३ वर्षीय बालकको हड्डी भाँचिएको ‘मिडियल इपिकन्डाइल फ्याक्चर फिक्सेसन’ सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ । मङ्सिर १७ गते चार वटा हड्डीसम्बन्धी शल्यक्रिया गरिएको थियो ।

अहिले अस्पतालमा हड्डी विभागमा बिरामीको चाप बढेको अस्पतालका तथ्याङ्क सङ्कलक नवराज शर्माले जानकारी दिए । उनका अनुसार बिरामीको भीड लागेपछि हप्तामा तीन दिन हड्डीको शल्यक्रिया गर्न थालिएको छ, भने अन्य समयमा बहिरङ्ग (ओपिडी) मा सेवा दिने गरिएको छ ।

हप्ताको सोमबार, बुधबार र शुक्रबार हड्डीको शल्यक्रिया गरिने शर्माले बताए । हड्डीसम्बन्धी समस्या लिएर ओपिडीमा दैनिक एक सयदेखि एक सय ५० जना बिरामी आउने गरेका उनले जानकारी दिए । धौलागिरि अस्पतालमा गलकोट, बुर्तिबाङ, पर्वत, बेनी, मुस्ताङ, रुकुम, रोल्पालगायत क्षेत्रबाट हड्डीसम्बन्धी समस्या लिएर बिरामी आउने गरेका छन् ।

धौलागिरि अस्पतालका मेडिकल अधिकृत डा सन्दिप केसीले अस्पतालमा हड्डीरोगसम्बन्धी जटिल प्रकारका शल्यक्रिया हुन थालेपछि थप उपकरण र जनशक्तिको आवश्यकता देखिएको बताए । आगामी दिनमा सरोकार भएका निकायसँग समन्वय गरी जनशक्ति व्यवस्थापन र सेवा विस्तार गर्दै जाने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १ : १३ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका