८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आँधीखोला तर्न फट्केको भर



वालिङ । स्याङ्जाको भिरकोट-५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।

हिउँदका समयमा खोला वारपार गर्नका फट्केले सहज हुने गरेको जनप्रिय माध्यमिक विद्यालय भिरकोट-५ का शिक्षक कृष्णप्रसाद पौडेलले बताए । विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थी तथा सिम्लेबाट गैह्रौथोक बजार जान फट्के बनाउनाले खोला तर्न सहज भएको उनले जानकारी दिए ।

“जाडोको समयमा खोला तर्दा चिसो हुने, जुत्ता मोजा खोल्नुपर्ने, कहिलकाहीँ खोलाले बगाउनेसमेत गथ्र्यो”, उनले भने, “खोलामा पस्नै नपरीकन वारपार गर्न फट्केले सहज भएको छ ।” स्थानीयवासी, शिक्षक, विद्यार्थी सबै मिलेर बर्सेनि बनाउँदै आएको फट्केले यस वर्ष पनि निरन्तरता पाएको उनले बताए ।

बाँस काटेर सातदेखि नौवटा किला बनाउने र त्यसलाई भाटाले भकारीजस्तै गरी बुनिन्छ । बुनिएको भकारीलाई खोलामा लगेर ढुङ्गा भरिन्छ र त्यसलाई पिल्लरको रूपमा प्रयोग गरी बाँस तेस्र्याइन्छ । तेस्र्याइएको बाँसमाथि बालुवा भरिएको बोरा राखेर फट्के तयार गरिन्छ ।

खोलाको फैलावटका आधारमा भकारी बनाइने उनले बताए । “खोला कति फराकिलो भएर बहेको छ, त्यसैका आधारमा भकारीको सङ्ख्या घटीबढी हुने गर्छ”, उनले भने, “कहिले सात-आठवटा भकारी बुने पुग्छ, कहिले २०-२२ पनि बुन्नुपर्छ ।”

पहिला-पहिला बाँस खोज्न टाढाटाढाका गाउँगाउँमा पुग्नुपथ्र्यो । केही वर्ष अघिदेखि विद्यालय आफैँले बाँस रोपण गरेकाले बाँस खोज्न टाढा जानुपर्ने झण्झट हराएको छ ।

विद्यालयभन्दा केही तल आँधीखोलामा पक्की पुल निर्माण सुरु भएको पनि वर्षौँ भयो । पुल समयमै सम्पन्न हुन नसक्दा पनि विद्यार्थी तथा स्थानीयले बाँसको फट्केबाट खोला वारपार गर्नुपर्ने बाध्यता रहिआएको छ । खोलाको किनारमै रहेको विद्यालयका शिक्षक, विद्यार्थीले कक्षा खाली भएका बेला स्थानीयसँगै जनश्रमदानमा सहभागी हुने गरेका छन् । फट्के बनाउन कम्तीमा तीन दिनदेखि बढीमा एक हप्तासम्म समय लाग्ने गरेको उनले बताए ।

पहिला वर्षा तथा हिउँदका समयमा माझी तथा बोटेहरूको सहायतामा डुङ्गाबाट वारपार गर्ने गरिएको स्थानीय चन्द्रध्वज खाणले बताए । डुङ्गाबाट खोला वारपार गर्ने गरिएकोमा पछिल्लो समय माझी तथा बोटे समुदाय विस्थापित भएपछि विकल्पका रूपमा फट्के हाल्न थालिएको उनले बताए ।

पायक पर्ने यस ठाउँमा झोलुङ्गे पुलका लागि पटकपटक माग गरिए तापनि हालसम्म सुनुवाइ नभएको उनको गुनासो छ । “हिउँदमा फट्के बनाउने र वर्षायाम सुरु हुने बेला झिक्ने यहाँको परम्पराजस्तै बनेको छ”, उनले भने, “विगतका वर्षमा जस्तै यस वर्ष पनि विद्यालयको सक्रियता तथा अगुवाइमा फट्के बनाइएको छ ।” एकपटक फट्के बनाएपछि झण्डै सात-आठ महिनासम्म खोला वारपार गर्न सहज हुने गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : २४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति