१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, सामान्य भौतिक क्षति, चनाखो हुन अनुरोध



काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।

यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए । उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिए ।

काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुङ्गा खसेर घाइते भएका अधिकारीले जानकारी दिए ।

ओखलढुङ्गामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा सङ्खुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सोलुखुम्बुम एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ ।

भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ घरमा क्षति पुगेको छ । भूकम्पले जिल्लाका विभिन्न स्थानमा गरी एक पूर्ण, एक आंशिक र छ सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेका अनुसार भूकम्पले खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङ ङिमा शेर्पाको ढुङ्गा माटोको गाह्रो र टिनको छाना भएको दुईतले घर पूर्ण क्षति भएको छ भने सोही वडाको थामेत्याङस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको पोष्ट भवनमा सामान्य क्षति भएको छ ।

यस्तै थुलुङ दूधकोशी गाउँपालिका–७ देउसा लुरूवा बस्ने वर्ष ५० को हर्कबहादुर खत्रीको घरमा आंशिक क्षति पुगेको छ । माप्य दूधकोशी–१ जुभिङका पञ्चबहादुर कामी र निङ्गा नुरू शेर्पाको ढुङ्गा माटोले बनेको घरमा पनि सामान्य क्षति पुगेको प्रनाउ घिमिरेले बताए ।

यस्तै सोताङ गाउँपालिका–३ नार्केलका चेतन बस्नेत र सोही ठाउँका जनक बस्नेतको दुईतले, ढुङ्गामाटोले बनेको घरमा सामान्य क्षति पुगेको छ । जिल्लाको लिखुपिके गाउँपालिका–४ लेब्लुु बस्ने कमलकिशोर कार्कीको ढुङ्गामाटो र टिनको छाना भएको तीनतले घर पनि भूकम्पकै कारणले सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय क्षति नभएको बताइएको छ ।

चनाखो हुने अनुरोध

यसैबीच सरकारले छिमेकी मित्रराष्ट्र चीनको तिब्बत (सिचाङ) स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्रविन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पबाट भएको क्षतिबारे जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको छ ।

गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारीप्राप्त नभएको जानकारी गराउँदै विवरण सङ्कलन भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका जानकारी दिए ।

उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको उनले बताए ।

“सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्राधिकरणले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ५७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा