१० पुस २०८२, बिहिबार | December 25, 2025

देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था



नवलपुर । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट-३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । “नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उनले भने, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर जान सकिन्छ ।” कालीगण्डकी चोकबाट करिडोरको बाटो हुँदै चारपाङ्ग्रे सवारीसाधनबाट कालीगण्डकीको पक्की पुलबाट देवघाटधाममा नै पुग्न सकिने भन्दै उनले शिलान्यासचोक हुँदै ब्रिटिस क्याम्प भएर दुईपाङ्ग्रे सवारीसाधनमा देवघाटको केलादीघाटमा पुग्न सकिने बताए ।

चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने बताए । गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनले बताए । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उनले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताए ।

“माघे सङ्क्रान्तिको दिन नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न तीर्थालुलाई निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भने, “तीर्थालुले माघे सङ्क्रान्ति स्नान सहज रूपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उनले बताए । चितवनतर्फबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै वडाध्यक्ष तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताए ।

“धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”, वडाध्यक्ष तिवारीले भने, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।” नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ४१ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न