२१ मंसिर २०८२, आइतबार | December 7, 2025

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव


५ माघ २०८१, शनिबार  

117
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै निर्माणार्थ प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यालयलाई गत वर्षमै बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीको सङ्गलस्थल दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएपछि सबै प्रक्रिया पूरा गरी प्रस्ताव गरिएको कार्यालयका प्रमुख विनय पौडेलले बताए । उनका अनुसार गत वर्षनै दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि लागत अनुमानसमेत पठाउन भनिएअनुसार प्रस्ताव गरिएको हो । “प्रदेश मन्त्रालयबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएअनुसार प्रस्ताव गरेका छौँ, लागत अनुमानबारे भने मन्त्रालयसँगको सुझावका आधारमा तय हुने देखिन्छ”, उनले भने ।

सङ्घीय शसर्त अनुदानअन्तर्गत निर्माण गर्नेगरी गत वर्षमा गरिएको प्रक्रियालाई निरन्तरतासहित यस वर्ष निर्माणको चरण प्रक्रिया अघि बढाइएको पौडेलले बताए । विसं २०७८ असार महिनामा मेलम्चीबाट इन्द्रावती नदी हुँदै आएको बाढी तथा गत असोज दोस्रो साताको बाढीले बस्ती कटान गरेपछि स्थानीयले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका छन् ।

सङ्घीय सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दोलालघाट बजार, बस्ती तथा पुल सुरक्षित गर्ने विषयमा छलफलको योजनासहित अघि बनाइने बताए। “विपद्को प्रक्षेपण गर्न सकिए पनि कस्तो खालको हुन्छ भन्ने यकिन गर्न सकिन्न, हाम्रो क्षमता र तत्कालको आवश्यकताअनुसार अघि बढ्नुपर्ने देखिन्छ”, उनले भने । उनले निर्माणको योजना बनाइएको ‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढाइए दोलालघाट क्षेत्रको बस्ती नै कसरी व्यवस्थित गर्ने भन्नेमा यकिन हुने जिकिर गरे ।

पटकपटक इन्द्र्रावती खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको छ । वर्षौंपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीय हीराकाजी श्रेष्ठले बताउँछन् । उनी भन्छन्, “इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता रहँदै आएको छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ, कुन सरकारले कहिले सुरू गर्ने हो, थाहा छैन १” उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।

यसअघि मेलम्ची हुँदै इन्द्रावती नदीमा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममा पर्ने भन्दै गत वर्षनै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको सङ्गमस्थल क्षेत्रमा फैलिएको बजार हो ।

यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

 

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ३७ बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको