१४ बैशाख २०८३, सोमबार | April 27, 2026

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान



काभ्रेपलाञ्चोक । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् ।

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका-२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन् । बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए । तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ ।

बर्खामा बाढी आएर बगाउलाझैँ हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन् । बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए । आफैँले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ । बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो ।

विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए । माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ । डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए ।

बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ । कतिपय त गाडीको सहायताले अरु ठाउँमा लगेर थुपार्ने गरिरहेका छन् । स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए । जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए ।

भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताए । “जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्यो”, उनले पीडा सुनाउँदै भने, “अहिलेसम्म राहत कतैबाट पाएकी छैन ।”

बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन् । सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो । बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : १५ बजे

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्

पोखरा सभागृह पुनर्निर्माण गरिने

पोखरा । पोखरा सभागृहलाई पुनर्निर्माण गर्दै सुविधासम्पन्न बनाइने भएको छ

सुरक्षित गर्भपतन सेवा असुरक्षित : रोकिएन अकालमा आमाहरुको मृत्यु

काठमाडौं । विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन

अस्पतालहरुको सेवाको गुणस्तर सुधार गर्न निर्देशन

। जिल्लाका सरकारी, निजी अस्पताल र स्वास्थ्य संस्थाका व्यवस्थापक एवं

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट । यहाँको काठेखोला गाउँपालिका-२ भिमपोखरा र वडा नं ४