नेपालगन्ज । २०६७ जेठ १० गते बिहान ८ः०० बजे काठमाडौं, स्वयम्भुको बिजयश्वरीमा डेरा गरी बस्दै आएका रमेश नेपालीको सारा परिवारले अकालमै ज्यान गुमाउनु प¥यो । खाना पकाउन ग्यांस बाल्दै गर्दा रमेशकी श्रीमती सीता, ४ वर्षीय छोरा रमित र १ वर्षकी सानी बालिका रमिला नेपालीको अनाहकमै ज्यान गयो । ग्यास सिलिण्डर विस्फोटमा अन्य ४ जना पनि घाइते भए ।
त्यसैगरी ०६७ साउन २९ गते शनिबार ग्यांस सिलिण्डर विस्फोटमा परिन् एकीकृत नेकपा (माओवादी)की सभासद् रामकुमारी यादव । मध्यान्ह ३ः०० बजे भान्छामा पुगेर कोठाको बिजुलीको स्वीच अन गर्ने क्रममा ग्यांसबाट आगलागी हुँदा उनी जलेर गम्भीर घाइते हुन पुगिन् । उपचारको क्रममा भारतमा उनको पनि दुखद् निधन भयो । २०७७ असोज २९ गते काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका थिए । २०७९ फागुन ३ गते राती बुद्धनगर स्थित कांग्रेस नेता चन्द्र भण्डारीको निवासमा पनि ग्यास सिलिण्डर विस्फोट भयो । ७९ वर्षिया आमाको निधन भएको थियो भने सांसद भण्डारी गम्भीर घाइते भएका थिए।
आज पुनः काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बिगत एक वर्षमा मात्र मुलुक भर ग्यांस दुर्घटनामा १२ बढी नेपालीको मृत्यु भईसकेको र लाखौको धनमाल नष्ट भएको छ । नेपालमा जति पनि ग्यांस उद्योग छन् तिनले प्रयोग गर्ने सिलिण्डर ज्यादै पुराना छन् । ती सिलिण्डर हाईड्रोलिक परीक्षणसमेत गरिएका छैनन् । ग्यांस चुहिने धेरै कारण मध्ये सिलिण्डरको कम गुणस्तर हुनु हो । ग्यास सिलिण्डर र चुल्होसँग जोडिएका समस्या बारे अज्ञानताले उपभोक्तामा लापरवाही बढाएको छ ।
अन्तर्राष्ट्रिय मान्यता अनुसार ७ वर्षमा एक पटक सिलिण्डरको हाइड्रोलिक परीक्षण गर्नुपर्छ । तर नेपालमा सिलिण्डरको हाइड्रोलिक परीक्षणमा सरकारी निकायको भूमिका कंही देखिएको छैन । नाफा मात्रै हेर्ने तर गुणस्तर नहेर्ने कम्पनीहरुको बेवास्ता त डरलाग्दो रुपमै देखिएको छ । हाइड्रोलिक परिक्षण गर्ने ल्याव सरकारसँग छैन भने उद्येगीहरुले आफै तयार गरेको प्रबिधिमा प्रयोग योग्य भएको विश्वास गर्न सरकार बाध्य छ ।
राज्यको अनुगमन फितलो भएकै कारण प्रत्येक पसलहरुमा मापदण्ड बिपरित रेगुलेटर , ग्यांस चुल्हो र पाईपहरु सजिलै उपलब्ध हुने गरेका छन् । ग्याँस बिक्रेताहरुले पालना गर्नुपर्ने सामान्य मापदण्ड समेत पालना नगर्दा कुनैपनि बेला घरघरमा विष्फोट हुन सक्ने खतरा रहँदै आएको छ । अति प्रज्वलशील पदार्थ भएर पनि बजारका किराना पसल देखि तरकारी पसल सम्म ग्याँसको बिक्री वितरण भइरहँदा पनि सरकारी निकाय मौन बस्दै आएको छ ।
ग्यांस बिक्रि सम्बन्धमा २०६३ साल पौष २८ गते सर्बोच्च अदालतका न्ययाधीस द्वय केदार प्रसाद गिरी र शारदा श्रेष्ठको संयुक्त ईजलासले गरेको एउटा फैसलामा नेपाल गुणस्तर (प्रमाण चिन्ह) ऐन २०३७ ले दिएको अधिकार प्रयोग गरी नेपाल गुणस्तर परिषद्ले तर्जुमा गरि लागु भएको एल।पि ग्यांस सिलिण्डर आचारसंहिता नेपाल गुणस्तर ३७६/२०५३ को नियमहरुको नियम ३.१२मा सिलिण्डरलाई उद्योगकै सम्पत्ति मानी ग्यांसको सिलिण्डर दुर्घटना भई क्षती भएमा उद्योगलाई नै जिम्मेवार बनाउने प्रावधान राखिएको छ ।
ग्यासको सिलिण्डरबाट दुर्घटना भयो भने त्यसका कम्पनी र बिक्री गर्ने बिक्रेतालाई समेत उपभोक्ता हित संरक्षण ऐन अनुसार कर्तव्य ज्यान मुद्दा लाग्ने र क्षतिपूर्तिको दाबीसहित कारवाही हुन सक्ने ब्यवस्था भएपनि उपभोक्तालाई यसबारे कहिं कसैले जानकारी दिएको पाईंदैन । ग्यास कम्पनीहरुले क्षेतिपुर्ति दिएको वा सजाँय भोगेको पनि नेपालमा बिरलै सुन्न पाइन्छ । बोल्न सक्ने र पहुँच भएका ब्यक्तिहरुलाई उप्पादकले क्षतिपुर्ती दिएपनि अधिकांस सर्वसाधारण कानुनका विषयमा अजविज्ञ नै रहेका छन् । नेपाल आयल निगमले फुटरिङ गरेको भन्दै कहिलेकाहीँ आवाज उठाउने गरेपनि उपभोक्ताबादी संस्था मौन बसेपछि निगम बालमतलव गरेर बस्ने गरेको छ ।
सिलिण्डरको पनि सकिन्छ म्याद, यस्तो छ थाहा पाउने तरीका
सिलिन्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर सजिलै ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सकिन्छ ।
सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै अङ्कहरु लेखिएका हुन्छन् । ती अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले सिलिण्डर उत्पादन गर्दाकै बेला १२ वटा महिनालाई समेटेर ३र३ महिनामा भाग गरी ४ भागमा छुट्याएर ए, बी, सी र डी अंकित गरेका हुन्छन् ।
‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।
माथिको तस्वीरको सिलिन्डरमा ए–२३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ । त्यस्तै प्रकारले बी- २२ लेखिएको छ भने जुन २२ मा म्याद सकिएको भन्ने बुझ्नु पर्दछ । यस्तै एक्सपायर्ड डेट बाँकी रहे पनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।
स्मरणीय के छ भने अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।
उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५र५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था छ । तर नेपालका कतिपय उद्योगहरुले हाइड्रोलिक परिक्षणको प्रबिधि राख्नु भन्दा आसनको गोलाई र घाँटी मात्र फेरेर पुरानै सिलिण्डर पेन्ट गरि बजारमा ल्याउने गरेको स्रोतको दाबी छ ।
अलिेपनि ग्याँस उद्योग र नेपाली बजारमा २० वर्षभन्दा लामो आयु काटेका लाखौं सिलिन्डर सजिलै भेट्न सकिन्छ ।
उपभोक्ता सजग नभएको तथा उपभोक्ताबादी संगठनका अधिकारीहरु उद्योग संचालकहरुसँग मिलोमतो गरिदिँदा त्यसैको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् । त्यस सम्बन्धमा सरकारको अनुगमन पनि शुन्यप्राय रहेको छ । अघिल्लो वर्ष सम्म जनचेतना शिर्शकमा चेतनामूलक विज्ञापनको बजेट डिपोहरुलाई दिएपनि यस वर्षबाट जनचेतना कार्यक्रमको कुनै बजेट निगमका डिपोहरुलाई नभएको नेपाल आयल निगम नेपालगन्ज डिपोका प्रमुख मनोहर डिसीले बताए । पुराना सिलिण्डरको पुनः प्रयानेगमा भने निगमले कडाई गर्ने प्मुख डीसीले प्रतिबद्धता जनाए ।
कसरी बच्ने आगलागिबाट ?
ग्याँस सिलिण्डर प्रयोग गर्न नजानेर पनि ग्यास विष्फोट र आगलागी हुने गरेको छ । कमसल रेगुलेटर र पाईप तथा पुराना सिलिण्डर विष्फोटका मुख्य कारण हुन् । तर सावधानी अपनाउँदा विष्फोट र दुर्घटनाबाट बच्न सकिन्छ ।
खाना पकाउने कोठामा खुल्ला झ्याल राख्न जरुरी छ भने ग्याँसको प्रयोग गर्नुपूर्व झ्याल ढोका खोलेपछि मात्र बत्तीको स्वीच वा सलाई लाइटर प्रयोग गर्नु पर्दछ । यसरी ग्याँस जलाउँदा एक्कासी आगो लागिहाले पनि आत्तिनु हुँदैन । सकेसम्म नआत्तिएर रेगुलेटर बन्द गर्ने कोशिश नै पहिलो दुर्घटनाबाट जोगिने उपाय हो । त्यसो गर्न नसकिए बलिरहेको सिलिण्डरलाई चुल्हो सहित उचालेर खुल्ला ठाँउमा पुर्याउन सक्नु पर्दछ । त्यो पनि सकिएन भने वुटको बोरा वा काम्लो पानीमा भिजाएर बलिरहेको स्थानमा हावा पास नहुनेगरि छोपिदिँदा पनि ग्यासको आगो निभ्ने गर्दछ । सिलिण्डरको मुखबाट आगो बलिरहेको छ भने बिर्को टाइट हुने गरि बाल्टीनले सिलिण्डर छोपिदिएपनि आगो निभ्छ ।
नेपालमा एकाधिकार कायम राखेर एलपी ग्याँस बेचिरहेको नेपाल आयल निगमसँग जनचेतना शिर्शकमा बजेट भएपनि निगमले खर्च नगरि फ्रिज गर्ने गरेको छ । ग्याँस प्रयोग गर्ने गृहिणीहरुमा सिलिण्डर प्रयोग, चुल्होको सरसफाई र रेगुलेटर र पाइपको गुणस्तरका बारेमा चेतना फैलाउन सकेमात्र पनि ग्याँस सिलिण्डर दुर्घटनालाई न्यूनिकरण गर्न सकिन्छ ।
प्रतिक्रिया