७ आश्विन २०८३, बुधबार | September 23, 2026

रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित कृषक



मकवानपुर । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ६२ हजार ६२८ रहेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही कम हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा दुई लाख ६ हजार ३९० जनाले अन्तिम श्रम स्वीकृति र एक लाख ३३ हजार ९४० ले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको लर्को लामो छ । वार्षिक आँकडा केलाउँदै जाने हो भने कुनै वर्ष केही हजारको सङ्ख्यामा तलमाथि भए पनि रोजगारीका लागि पलायन हुनेको सङ्ख्यामा खासै कमी आएको छैन । यद्यपी स्वदेशमै केही गरेर आर्थिकस्तर सुधार्न सकिन्छ भन्ने विश्वास पनि जाग्न थालेको छ । स्वदेशमै श्रम गरे, राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखिन थालेका छन् । हो, विदेशमा काम गरेर पैसा पठाउने नेपालीको ठूलो सङ्ख्यामा सामेल हुने सुरमा रहेका मकवानपुरका कृष्णबहादुर एक उदाहरण बनेका छन ।

वैदेशिक रोजगारीमा जान निस्केका थाहा नगरपालिका-५ खोलाघारीका कृष्णबहादुर मोक्तान अहिले लखपति किसान भएका छन । उनले ट्राउट माछापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन । माछापालनसँगै किबी र तरकारीखेतीमा व्यस्त भएर उनले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन ।

विसं २०७७ देखि रू ६० लाख लगानीमा दुई रोपनी क्षेत्रफलमा ट्राउट माछापालनका लागि नौ खण्डको पोखरी निर्माण (रेसवे) गरेर उनले व्यावसायिक माछापालन सुरू गरेका थिए । युनिक कृषि फार्म दर्ता गरेर उनले पाँच हजार रेन्बो ट्राउट र स्थानीयस्तरमा पाइने सात हजार असला माछापालन गरेका छन ।

कुनै समय काठमाडौंमा रहेर सवारी चालकका रूपमा काम गर्ने मोक्तान वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा थिए । मेडिकल गर्ने क्रममा उनमा जन्डिस देखिएपछि असफल भए । त्यसपछि रोजगारीका लागि विदेशिने मनसाथ बदलेर उनी आफ्नै गाउँमा केही गर्ने हेतुले घर फर्किए । “काठमाडौंमा सवारी चलाउँथेँ, नुवाकोटका एकजना दाइ र म सँगै काम गर्थ्यौ, उहाँकै सल्लाहमा आफ्नै गाउँ फर्केर कृषि कर्ममा लागेँ । काभ्रेमा माछापालनका लागि प्राविधिक ज्ञान लिएँ”, मोक्तानले भने ।

विसं २०७४ को स्थानीय तहको चुनावमा वडा सदस्य जितेका मोक्तान पुनः वडा सदस्यमा चुनिएका छन । हाल उनी कार्यवाहक वडाध्यक्ष हुन । वडाको जिम्मेवारीसँगै उनले कृषि कर्मलाई अगाडि बढाएका छन ।

यहाँको कर्मभूमि सामुदायिक वनबाट निस्केको मूलको पानी काठमाडौंको गोदावरीमा जाँच गर्दा ट्राउट माछापालनका लागि उपयुक्त भएकाले माछापालन सुरू गरिएको मोक्तानको भनाइ छ । आफैँसँग भएको केही रकम र सहकारीबाट ऋण गरेर ट्राउट माछापालन सुरू गरेका उनले रू एक हजार पाँच सय प्रतिकेजीका दरले यहाँको माछा बिक्री गर्दै आएका छन ।

वार्षिक एक हजार सात सय किलो माछा उत्पादन गरी बिक्री गर्दै आएका मोक्तानले रू २५ लाख बराबरको कारोबार गर्दै आएको बताए । सबै खर्च कटाएर वार्षिक १२ लाख बढी आम्दानी हुने गरेको उनको भनाइ छ ।

यहाँ उत्पादन भएको माछा हेटौँडा, काठमाडौं र स्थानीयस्तर दामन, पालुङ र सिमभन्ज्याङमा खपत हुने गरेको छ । “बजारको समस्या छैन, उत्पादन गर्न सके बिक्री हुन्छ, प्रायः फार्ममै माछा लिन आउनुहुन्छ, माग भए बजार पनि पठाउँछौँ”, मोक्तानले भने । उनले सञ्चालन गरेको ट्राउट माछापालन र किबीखेतीको काममा तीन जनाले रोजगारी पाएका छन ।

किसान मोक्तानले माछापोखरीबाट बगेको पानीलाई घट्ट चलाउन पनि प्रयोग गरेका छन । भविष्यमा रिसोर्ट बनाएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहेका उनले स्थानीयस्तरमै उत्पादन भएको मकै, कोदो, फापर, माछा, सिस्नु र खोले सागको परिकार खुवाउने योजनाका साथ काम गरेका हुन ।

यस्तै, उनले बाँझो र खेर गइरहेको आठ रोपनी जग्गामा हेवाड जातको किबी फल रोप्नुभएको छभने तरकारीखेतीका लागि एक सय मिटरको पाँचवटा टनेल पनि निर्माण गरेका छन । त्यस्तै २० रोपनी जग्गामा काउली, बन्दा, गाँजर मुला, आलुलगायत तरकारीखेती गर्दै वार्षिक रू ७ लाख बढी आम्दानी गर्दै आएका छन ।

पछिल्लो समय मोक्तानले दामनमा रहेको बागवानीबाट एक सय २० बोट किबीको बिरूवा ल्याएर रोपेका छन । गत वर्ष ३० किलो बढी किबी बिक्री गरेकोमा आगामी वर्षबाट पूर्ण रूपमा उत्पादन लिन सक्ने उनको विश्वास छ । उनी जस्तै मकवानपुरका उत्तरी क्षेत्रका किसान रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित भएका छन् । यहाँका किसानले आर्थिक उपार्जनका लागि माछापालनसँगै नगदेबाली लगाएर मनग्य आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई