२० माघ २०८२, मंगलबार | February 4, 2026

साझेदारी वन कार्यान्वयनपछि स्थानीयलाई रोजगारी



कैलाली । गौरीगङ्गा नगरपालिका-९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्किन्छन । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन । उनी भन्छन, “एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक रु एक हजार आम्दानी भइरहेको छ ।”

घोडाघोडी-८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन । “खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु”, उनी भन्छन ।

आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन् । काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन् । गौरीगङ्गा-१० का सागर धामी भन्छन, “मासिक तलबमा काम गरे पनि साझेदारी वनको काम सुरु भएपछि दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म तलबबाहेक आम्दानी गरिरहेको छु ।”

दिगो वन व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउने र वन पैदावार आपूर्ति गर्ने उद्देश्यले २०७८ सालमा उक्त वनको कार्ययोजना स्वीकृत भएको थियो । सोहीअनुरूप साझेदार पक्ष तथा सरोकारवालाको सहभागितामा २०७९ सालमा समूह गठन भएको थियो । तर आन्तरिक विवादका कारण साझेदारी वन कार्यान्वयनमा आउनसकेको थिएन ।

साझेदारी वन कार्यान्वयनमा आएपछि दुई वर्षदेखि तलब नपाएका वन हेरालु पनि तलब पाइन्छ भनेर खुसी छन् । वन हेरालु करणसिं साउद भन्छन, “तलब नपाउँदा एकदमै समस्या भोग्नुपर्यो । अहिले दुई बच्चालाई राम्रै स्कुलमा पढाइरहेको छु ।” अब भने साझेदारी वनको काम सुरु भएकाले पारिश्रमिक पाउन समस्या नभएको उनले बताए ।

अर्का वन हेरालु सनम चौधरी पनि पारिश्रमिक पाइने खुसीमा छन । “साझेदारी वन गठन भएको सुरुका वर्ष पारिश्रमिक पाइयो । त्यसपछि पारिश्रमिक पाउने आशैआसमा दुई वर्ष बित्यो । त्यसअघि विदेश जाऊँ भन्ने सोचाइ आयो”, चौधरीले भने- “घर नजिकै पाएको काम छाड्न सकिएन । अब भने म खुसी छु ।”

साझेदारी वनमा नौ वन हेरालु, एक कार्यालय सचिव र एक कार्यालय सहयोगी छन् । साझेदारी वन कार्यान्वयनका लागि प्रयास नभएको पनि होइन । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार १९७ दशमलव ८३ घनफिट काठ र ५९ दशमलव ८२ चट्टा दाउरा सङ्कलनका लागि छपान भएको थियो । आव २०८०/८१ मा एक लाख २३ हजार ६६२ दशमलव ०३ घनफिट काठ र १०८ दशमलव ४७ चट्टा दाउरा सङ्लनका लागि छपान गरिएको थियो । तर आन्तरिक विवादका कारण कार्यान्वयनमा भने आउन नसकेको कार्यालय सचिव डिलबहादुर बोहरा बताउँछन ।

सचिव बोहराका अनुसार विगतम काम नभए पनि यसपटक भने सङ्कलन सहमतिअनुसार ५४ हजार क्युफिट काठ र ४५ चट्टा दाउरा कटान भइरहेको छ । साझेदारी वन कार्यान्वयनमा नआउँदा सामान्य प्रशासनिक खर्च व्यवस्थापन गर्न समस्या झेल्नुपरेको बोहराले बताए । वडास्तरीय उपभोक्ता भेलाबाट सबै वर्गलाई समेटेर छनोट भएका प्रत्येक वडाका सात-सात जना, साझेदारी वन कार्यान्वयन क्षेत्रभित्र पर्ने प्रत्येक वडाको वडाध्यक्षले तोकेका वडा सदस्य एक, एक जना गौरीगङ्गा र मोहोन्याल गाउँपालिकाको कार्यपालिकाबाट छनोट भएका प्रतिनिधि गरी जम्मा ५० जना सो वन उपभोक्ता समूहका सदस्य रहने विधानमा छ ।

उक्त वन समूह गठन प्रक्रियाकै बेला विवाद भएको थियो । सुरुमा गठन भएको समिति खारेज भई अर्को समिति गठन गरिएको थियो । यसरी समूह गठन हुँदा आन्तरिक विवाद कायमै रहेको थियो । समूहका सदस्यसचिवको विवादलाई सुल्झाउँदै विभिन्न राजनीतिक दल, सरोकारवाला निकायलगायतसँग छलफल गरी कार्यान्वयनमा ल्याएको गौरीगङ्गा साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष हिक्मत महताले बताए । आगोले जलेर सडेर जाने काठको सदुपयोग गर्दै स्थानीय उपभोक्ताको आपूर्ति पुरा हुने अर्का सदस्य मोहन विक बताउँछन । नगरपालिकाको ४, ५, ७, ८, ९ र मोहोन्याल गाउँपालिकाको पाँच नम्बर वडालाई समेटेर गौरीगङ्गा साझेदारी वन बनाइएको हो । तीन हजार २० दशमलव ४६ हेक्टर क्षेत्रफल रहेको साझेदारी वनका छ हजार तीन सय २६ घरधुरी उपभोक्ता छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : २३ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको