१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय



इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।

इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका-३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । “विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो”, उनले भने ।

इलाम-१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए । देउमाई नगरपालिका-९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ ।

इलाम नगरपालिका-५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरेपनि खुल्न अझै केही दिन लाग्ने बताए । अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ ।

लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो । नगरप्रमुख केदार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।”

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए । “विद्यालय भर्नामा असर नहुनेगरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ”, उनले भने, “सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन ।”

हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका-१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ५४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा