नेपालगन्ज । बाँकेको डुडुवा-४ स्थित करिव २ सय बिगाहा जग्गा अहिले भारतीय नागरिकले कब्जा गरेका छन् । डुडुवा-४ को सिधनियाघाट स्थित राप्ती बगर बिगत केही वर्षदेखि भारतीय नागरिकले कब्जा गरेर तरबुजा खेती गरिरहेका छन् । खुल्लेआम बिना इजाजत, बिना स्वीकृती र बिना दर्ता नेपाली भूमीमा भारतीय नागरिकले कब्जा जमाएर खेती गर्दा पनि उनीहरुले अहिले सम्म कसैले एक शब्द प्रश्न समेत गरेका छैनन् ।
भारतको बागपत जिल्लाका ५ भाईको परिवार र उनीहरुको ज्वाई समेत गरि ६ परिवारका झण्डै ७० जना भारतीयहरुले हरेक वर्ष १ करोड नेपाली मुद्रा भारत लैजाने गरेका छन् । बगरमा तरबुजा खेती गरे बापत उनीहरुले कहिँ कतै एक रुपैयाँ पनि तिर्दैनन् । स्थानीय पालिका, प्रदेश र संघमा कहिँ कतै उनीहरुले गरेको खेती र बिदेशिएको नेपाली मुद्राको बारेमा चर्चा समेत हुने गर्दैन ।
मोहम्मद सब्बिर, महोम्मद युसुभ, मोहम्मद सफिक, मोहम्मद साईद, महोम्मद समिम र उनीहरुका भिनाजु गरि ६ परिवारले राप्तीको बगरको ऐलानी झण्डै १५० कच्चा बिगाहा र बगरसँगै जोडिएको निजी झण्डै ८० बिगाहा जग्गामा तरबुजा खेती गर्दै आएका छन् । स्थानीय केही नेपालीको लापुर्जावाला जग्गामा पनि उनीहरुले तरबुजा खेती लगाएका छन् । निजी जग्गाको भने न्युनतम भाडा लिने गरेको स्थानीय बाबुराम यादव बताउँछन् । बाबुराम यादव, सियाराम यादव सहित केही स्थानीयको जग्गामा वार्षिक १० देखि २० हजार भाडा तिरेर पनि उनीहरुले तरबुजा खेती गरेका छन् ।
एक वर्षमा प्रति परिवार कम्तीमा १० लाख बचाएर भारत फर्कने गरेको स्थानीयको भनाई छ । माघ महिनामा आएर तरबुजाको खेती सुरु गर्ने उनीहरुले जेठ महिनाको १५ गते सम्म तरबुजा बेचेर भारत फर्कन्छन् । नेपालीले खेती नगरेर बाँझो छाडेको जग्गामा आफुहरुले तरबुजा लगाएको मोहम्मद साब्बिरले बताए । तरबुजा खेती गर्न धेरै मेहनत लाग्ने बताउँदै उनले नेपालीहरुले त्यती मेहनत गर्न नसक्ने बताए । खुल्ला बगरमा चैत्र बैशाखको गर्मीमा खेती गर्न सबैले नसक्ने उनको भनाई छ । ‘चमडा उजडगया धुपसे, यहाँके लोग इतना मेहनत नहिँ करपाएगा ।’ उनले भने ।
राप्ती नदीको बगरमा अहिले तरबुजा खरिद गर्नेहरुको भिड लाग्ने गरेको छ । गर्मी बढेसँगै बगरमा तरबुजा तयार भएपछि बगरमै गएर तरबुजा खरिद गर्नेहरुको भिड लाग्ने गरेको हो । राप्ती पुलको किनारमा तरबुजाको रास लगाएर बसेका भारतीयहरुसँग नेपालगन्जबाट गाडी लिएर खरिद गर्न जानेको लर्को लाग्ने गरेको छ भने हुलाकी सडक प्रयोगकर्ताहरुले पनि गाडी रोकेर तरबुजा किनेर लैजाने गरेका छन् । नेपालगन्जबाट हुलाकी रोड हुँदै राप्ती सोनारी, नरैनापुर तथा दाङ, बुटवल, काठमाडौं जाने यात्रुहरु पनि राप्ती नदीको पुल पारी बगरमा बेच्न राखिएका तरबुजा लिएर जाने गरेका छन् ।
उनीहरुले धेरै माग आउँदा ट्रयाक्टरमा लोड गरेर बजारमा पठाउँछन् भने दिन भरी सिधनिया घाटस्थित राप्ती नदीको पुल भएर आवत जावत गर्नेहरुको लागि बाटोमा थुपारेर विक्री गर्ने गर्दछन् । सडक किनारबाट प्रत्यक दिन कम्तीमा १० हजारको तरबुजा बेच्ने गरेको साबिरका भतिजा बिलाल खानले बताए ।
स्थानीय फत्तेपुरका ट्याक्टर चालक चक्रबहादुर थारुले यसरी भारतीय आएर करोड कमाएर जाँदा पनि नेपालीहरुले किन खेती गर्न मन नपराएको होला भन्दै आश्यर्य प्रकट गर्छन् । लकडाउन पछि उनले पनि आफ्नो खेत आफैले जोत्ने गरेको बताए ।
नेपाली भूमीमा भारतीयले खुल्लेआम कब्जा जमाएर खेती गर्दापनि स्थानीय सरकार भने मुकदर्शक बनेर बसेको छ । डुडुवा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अशोक पाण्डेयले निजी जग्गा भाडामा लिएर बगर खेती गरेको आफुले सुनेको बताए । उनले ती किसानहरुले पालिकामा कुनै कर नतिरेको बताउँदै उनीहरुको कुनै फर्म पनि पालिकामा दर्ता नरहेको बताए । ‘राप्ती नदीले मिचेको निजी जग्गा भाडामा लिएर तरबुजा खेती गरेको भन्ने सुनेको हुँ, अरु मलाई थाहा छैन ।’ उनले भने ।
नेपालीहरु दुःख गर्न लाजमानेपछि भारतीयहरुले खेती गर्ने गरेको लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठले बताइन् । आफुले यस विषयमा प्रदेशसभामा कुरा उठाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले अनुदान दिने बताएपनि स्थानीय खेती गर्न तयार नभएको बताइन् । ज्यालादारीमा काम लगाएर खेती गर्न खोज्दा पनि काम गर्ने मान्छे नपाएको उनको भनाई छ । करोड बढी भारतीयले लगेको जग्गामा नेपालीले गरिदिए युवाहरु विदेश जानै नपर्ने उनले बताइन् ।
हेर्दाहेर्दै नेपाली भूमीबाट भारतीयले करोड कमाएर फर्कँदा पनि न स्थानीय आफै खेती गर्न तम्सेका छन् न नेपाली मुद्रा बिना राजश्व बाहिरिँदा स्थानीय, प्रदेश र संघीय सरकारलाई चासो छ । आफै खेती गर्छु भनेर फर्म दर्ता गरि अनुदान माग्दा समेत कमिशनको अपेक्षा गर्ने सरकारी संयन्त्रलाई बगरमा भारतीयले करोड फलाउँदा गुमेको राजश्वको के मतलव ?
प्रतिक्रिया