२ श्रावण २०८३, शनिबार | July 18, 2026

नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपालस्थित चिनियाँ तथा बङ्गलादेश दूतावासका प्रतिनिधि तथा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन नेपाल आएका दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासङ्घका अध्यक्ष ढकालले नेपालको पर्यटन, जलविद्युत्, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारीसाधनजस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेकाले लगानीको लागि आग्रह गरे ।

उनले भने, “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, ऊर्जा कृषि तथा आइटीजस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरूलाई आग्रह गर्दछु ।”

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका र लगानी गर्न चाहने व्यवसायीका लागि सहजीकरण गर्न महासङ्घ तयार रहेकोसमेत जानकारी गराए । उनले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताका लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थल मात्र नभएर आपसी सहकार्य र व्यापार प्रवर्द्धनको उपर्युक्त माध्यम भएको बताए ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासङ्घमा चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल भएको छ ।

छलफलका क्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताएका थिए ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनियाँ लगानी भइरहेको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बन्धलाई थप राम्रो बनाउन आफूहरू सधैँ तयार रहेको बताए ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्स सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवसाय प्रवर्द्धन तथा चिनियाँ सहयोगका लागि दूतावास सधैँ सकारात्मक रहेको बताए ।

छलफलका क्रममा महासङ्घका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवर्द्धनमा चिनियाँ प्रविधि, पुँजी र अनुभवले महत्त्वपूर्ण योगदान दिने बताउँदै त्यसका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताए । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गरिन् ।

यस्तै महासङ्घका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापति उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरूको सहभगिताका लागि थप सहयोग एवं सहकार्यका लागि चिनियाँ पक्षलाई आग्रह गरे ।

यही वैशाख २५ गतेदेखि सुरु भएको नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०२५ मा सहभागी हुन यतिबेला चिनियाँ र बङ्गलादेशका व्यवसायीको समूह नेपालमा रहेको छ । आज करिब पाँच हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : ३९ बजे

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको