रूकुम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ।
चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखे । घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनु पर्ने माग गरिएको थियो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए। उनले पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिंदै सहिद घोषणामा केन्द्रबाट तल तल को आकडा मागिएको भए पनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए ।
अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए । उनले बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने स्पष्ट धारणा राखे।
“हामी क्रान्ति पूरा गरेर हैन, सम्झौताबाट आएको अवस्था हो,” अध्यक्ष प्रचण्डले भने, “अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु।”
अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए ।



















प्रतिक्रिया