बुटवल । वर्षौदेखि ‘बत्ति मुनिको अध्यारोँ’ बन्दै आएको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउँमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउँमा विद्युत लाइन बिस्तार गरी मंगलबारदेख बत्ति बल्न सुरु भएको हो ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल उपमहानगरको तामनगरदेखि ५ किलोमिटर उत्तरतर्फ जंगलको बीचमा रहेको ज्यामिरे गाउँमा बिजुली बत्ति पुगेपछि स्थानीय ४६ वर्षीया सुमित्रा गाहाले खुसी व्यक्त गरिन् । सानो बस्ती, जंगलले घेरिएको ठाउँ सधै अध्यारोँमा बस्नुपर्दा जंगली जनावरबाट आक्रमण हुने डर उत्तिकै हुन्थ्यो भने बालबालिकाहरुलाई साझ-बिहान पढ्नका लागि पनि समस्या, गाउँको दैनिकीनै अन्धकारमा बित्दै आएको अनुभव सुनाइन् उनले । गाउँमा बत्ति पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने छ भने गाउँनै उज्यालो हुने बताउँदै खुसी व्यक्त गरिन् ।
गाउँमा बिजुली बत्ती नहुँदा त्यहाँका स्थानीय मोबाइल फोनको ब्याट्री चार्ज गर्नका लागि मात्रै डेढ घण्टा लामो समय पैदल यात्रा गरेर तामनगर बजारमा आउनु पर्ने बाध्यता रहेको थियो । बिजुली घरमै पुगेपछि अब उक्त समस्या पनि अन्त्य भएको बताउँदै स्थानीय नन्दबहादुर गाहाले खुसी व्यक्त गरे ।
‘पहिला हामीलाई धेरै समस्या थियो, मोबाइल चार्ज गर्न पनि दिन बिताएर बजार बस्नुपथ्र्यो । अब घरमै मोबाइल चार्ज गर्न पाइने भयो ।’-‘नन्दबहादुरले भने, विजुली बत्ती गाउँमा आएपनि अब कुखुरा पालन, खेती किसानी सबैका लागि सहज हुने भयो । जे होस गाउँमा नसोचेको बिकास भयो ।’
गउँमा बत्ती ल्याउन भूमिका खेलेको भन्दै उनले उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई समेत सम्झिए । रुपन्देही क्षेत्र नम्बर २ का जनप्रतिनिधि समेत रहेका पौडेल समक्ष आफूहरुले गुनासो सुनाएपछि चासोका साथ आफ्नो मागलाई सम्बोधन गरिएको भन्दै उनले सरकारको अनुभूति बल्ल गर्न पाइएको उल्लेख गरे ।
स्थानीय सुमित्रा गाहाको घरमा बत्ती बालेर उज्यालो जामिरे घोषणा गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेयले अब रुपन्देहीमा कुनै पनि गाउँ विद्युत सेवाबाट बञ्चित नभएको उल्लेख गरे । ज्यामिरेका ६ वटा घरमा बत्ती बालिएको बताउँदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको उल्लेख गरे ।
८६ वटा विद्युत पोलमार्फत गाउँमा बिजुली पुर्याउने काम भएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण कर्मचारी प्रकाश भुषालले जानकारी दिए । उनले यसका लागि निर्माण कम्पनीले समेत समयमै काम सम्पन्न गरेर साथ दिएको उल्लेख गरे ।
निर्माण कम्पनी सुष्मा एण्ड सृष्टी कम्पनीका सञ्चालक लेखबहादुर कार्कीले व्यवसायीक घाटा-नाफाको कुरा भन्दा पनि गाउँमा पहिलो पटक बत्ती बाल्न पाउनुनै खुसीको कुरा भएको उल्लेख गरे । ५ किलोमिटर लामो जंगल हुँदै प्रशारण लाइन बिस्तार निकै चुनौतिपूर्ण भए पनि काम सुरु गरेको करिब २ महिना भित्र बत्ती बाल्न सफल भएको उनले जानकारी दिए ।
ज्यामिरेमा बत्ती पुर्याउनका लागि सक्रिय रुपमा लागेका तामनगर राजपुत खानेपानी संस्थाका अध्यक्ष धनबहादुर राहादीले अब गाउँमा बिजुलीको प्रयोग गरी पेशा व्यवसाय गरी आर्थिक क्रियाकलापमा लाग्न सहज हुने उल्लेख गरे ।
तामनगर निवासी उनले ज्यामिरेलाई आफ्नै गाउँ र आफ्नै उपभोक्ता सम्झिएर सिञ्चाई, खानेपानी लगायतका काममा समेत खानेपानी संस्थाबाट सहयोग गर्दै आएको जानकारी दिए । विद्युतसँगै गाउँमा पुग्ने सडक पूर्वाधार नहुँदा गाउँमा युवाहरु नबसेर सुनसान हुँदै गएको ज्यामिरे अब व्यवस्थित बन्दै जाने उनले अपेक्षा गरे ।


















प्रतिक्रिया