२ श्रावण २०८३, शनिबार | July 18, 2026

दाङमा लिङ्ग पहिचान नभएका चार सहित सात बयस्क बाघ फेला परे



दाङ । दाङका विभिन्न वन क्षेत्रमा सात वयस्क बाघ फेला परेका छन् । डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए ।

एक भाले, दुई पोथी र चार लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए । ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएका हुन् । सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थिए ।

चालिस दिनसम्म दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएका एक सय नौ वटा ग्रिडमा क्यामेरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए । उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दङ्गीशरण गाउँपालिकाभित्रका वन क्षेत्रलाई समेटेको थियो ।

सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो । हाल सङ्कलित तथ्याङ्कको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

यससँगै, मध्ये तराई भूपरिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पूरा भएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वयस्क बाघ अभिलेख गरिएको छ ।

प्रारम्भिक अध्ययनअनुसार ती बाघ बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गरेको अनुमान गरिएको छ । सिमावर्ती क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि आन्तरिक तथा दुई देशबीच प्रभावकारी समन्वयको आवश्यकता छ । यस क्षेत्रमा बाघको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासको सकारात्मक परिणामको रुपमा लिइएको छ । वन तथा भू–संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लु डब्लु एफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलो पटक बाघको गणना गरिएको बताए । वन्य जन्तु संरक्षणमा मानव जातीले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ९ : ५४ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम । दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ; पूर्जा छ,श्रेस्ता छैन

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले