१० पुस २०८२, बिहिबार | December 25, 2025

ज्येष्ठ शुक्ल दशमी : पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै



काठमाडौं । ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रूपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदै छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा गङ्गादशहरा मेला लाग्ने गर्दछ । दश दिन नभ्याउनेले भने आज विशेष रूपमा स्नान, पूजा एवं आराधना गरी यो पर्व मनाउने सनातनी परम्परा छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा आज बिहानदेखि स्नान गर्न भक्तजन भेला भएका छन् । दुई वर्ष अघिदेखि यहाँ व्यवस्थित रूपमा स्नान गर्ने व्यवस्था गरिएको छ । वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल पक्षमा स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल पक्षका दश दिनमा गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।

कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पुर्याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका अवसरमा गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता रहेको उनले बताए ।

सिद्धगयाका साथै काठमाडौंको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गमलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप दशहराका अवसरमा स्नान गरेर नाश हुने विश्वास रहेका गङ्गादशहरा भनिएको धर्मशास्त्रविद् प्राडा भट्टराईले जानकारी दिए ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि आज बिहानैदेखि स्नान मेला लागेको गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बुले जानकारी दिए । उनका अनुसार पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशअनुसार माता रेणुकाको हत्या गरेपछि यही स्थलमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन । पापमोचन स्वरूप परशुरामकी आमा रेणुकाले पुनर्जीवनसमेत पाएको पौराणिक कथन छ । दशहराका दश दिने अवधिमा जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने गरेको छ । यो योगमा स्नान गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पौराणिक कालमा यही दश दिन लगाएर स्वर्गबाट गङ्गा पृथ्वीमा अवतरण भएको शास्त्रीय मान्यता रहेको गङ्गा दशहरा स्नान समितिका अध्यक्ष लिम्बुले उल्लेख गरे । गङ्गा किनारस्थित भारतको काशीको दशाश्वमेधघाटमा पनि यो दश दिने अवधिमा विशेष मेला लाग्छ ।

यसैगरी त्रेतायुगमा भगवान् रामले सेतुबन्धमा स्थापना गरेको रामेश्वरघाटमा यस अवसरमा मेला लाग्ने गर्छ । यी तीर्थमा स्नान गरी भगवान्को दर्शन गरेमा दश प्रकारको पाप नाश हुने धार्मिक विश्वास रहेको छ । यसै विश्वासका आधारमा नेपाल र भारतका तीर्थस्थलमा आज स्नान मेला लाग्ने गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १२ : ३४ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु