खजुरा । ठेकेदार कम्पनीको लापरवाहीका कारण बिचमै अलपत्र पारिएको हुलाकी सडक अन्तर्गत खजुरा बजार क्षेत्र र बर्दियाको सदरमुकाम गुलरिया क्षेत्रको ३ हजार ८०० मिटर सडक हुलाकी सडकको मापदण्ड अनुरुप पुनः निर्माण गर्न बाँकेका २ साँसदहरुले माग गरेका छन् । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर र प्रतिनिधिसभा सदस्य आशा बिकले हुलाकी सडक निर्देशनालयको योजना कार्यालय नेपालगन्ज मार्फत सो सडक पुनः निर्माणको माग गरेका हुन् ।
सांसदहरुले हुलाकी सडकलाई लेखेको सिफरिसपत्रमा सडक डिभिजन कार्यालय नेपालगन्जबाट ठेक्का ब्यवस्थापन भई निकै लामो समयसम्म अलपत्र अवस्थामा रहेको र सडक डिभिजनबाट ठेक्का सम्झौता अन्त्य गरिएको नेपालगन्ज-गुलरिया सडक अन्तर्गत खजुरा बजार क्षेत्रको ४ लेन १८०० मिटर सडक र बर्दियाको सदरमुकाम गुलरिया बजारको २००० मिटर सडक अलपत्र अवस्थामा रहेको उल्लेख गरिएको छ । पत्रमा हालै सम्पन्न हुने चरणमा पुगेको नेपालगन्ज गुलरिया सडक स्तरउन्नती योजनामा नपरेको सो सडकलाई नेपालगन्ज-गुलरिया सडककै स्तरमा स्तरोन्नति गरिदिन स्थानीय नागरिकको माग तथा आवस्यकता रहेको जनाउँदै स्तरउन्नतीकै मापदण्ड अनुसार निर्माणका लाथि सिफारिस गरिएको छ ।
सांसदहरुले लेखेको छुट्टाछुट्टै पत्रमा सो सडकखण्डमा ठुलो बजार, क्यान्सर अस्पताल, सरकारी कार्यालयहरु समेत रहेको उल्लेख गर्दै दिनानुदिन नागरिकले धुलो, धुँवा, यातायातमा असहज आवागमन जस्ता सास्ती खेप्न बाध्य भएको जनाइएको छ ।
नेपालगन्ज-गुलरिया खण्डको अन्यत्र चिल्लो र फराकिलो सडक बनिसक्दा त्यसै सडक खण्डको खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग कायम रहेको छ ।
बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि गत वर्षको साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर सडक निमार्णलाई अनिश्चित बनाइदिएको थियो ।
सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको माग अनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको थियो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता तोडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएपनि हालै अदालतबाट सडक डिभिजनलाई सडक सम्बन्धमा निर्णय गर्ने अधिकार सहितको आदेश दिएको बताइएको छ ।
सडक डिभिजनलाई निर्णय गरेर अगाडि बढ्न बाटो खुलेपनि सो सडक हुलाकी सडक अन्तर्गत पर्ने भन्दै हुलाकी सडक निर्देशनालयबाटै निर्माण गर्न उपयुक्त हुने सडक डिभिजनको राय रहेको सडक डिभिजनका एक अधिकारीले बताए ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा गजुरमुखी निर्माण सेवाले ठेक्का लिएको थियो । सडकको कन्तबिजोग सम्बन्धमा स्थानीय सरकारले पनि पहलकदमी लिनुपर्नेमा स्थानीय सरकार भने मुकदर्शक भएको नेपाली कांग्रेस खजुरा पालिका समितिका सभिापति रमेश सिंजालीले बताए । स्थानीय पालिकाको पहलकदमी सम्बन्धमा बुझ्न पालिका अध्यक्ष डम्बर विक तुफानलाई फोन गर्दा उनको मोबाइल उठेन ।
हुलाकी सडक निर्देशनालयको योजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीले निर्देशनालयको निर्देशन भएमा सो सडकको अपनत्व योजना कार्यालयले लिएर निर्माण गर्न सकिने बताए । सोही सडक खण्डको दाँया र बाँयाको सडक ठेक्का समयअगावै सम्पन्नको चरणमा रहेको बताउँदै उनले सम्बन्धित निकायबाट निर्देशन भएमा सो खण्ड पनि हुलाकी सडककै मापदण्डमा बन्न सक्ने बताए ।
प्रतिक्रिया