पश्चिम एशियामा लामो समयदेखि जारी तनावले पछिल्लो समय इजरायल र इरानबीच प्रत्यक्ष सैन्य भिडन्तको रूप लियो। सन् २०२५ को जुन १३ मा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेपछि इरानले पनि प्रत्याक्रमणमा उत्रिएर यस युद्धलाई नयाँ उचाइमा पुर्यायो । १२ दिनभन्दा बढी समय युद्ध हुँदा दुवैतर्फबाट भएको आक्रमण र प्रत्याक्रमले दुवै देशमा ठूलो मानवीय र भौतिक क्षति भयो । यो युद्ध तत्कालका लागि टरेको जस्तो देखिए पनि त्यस क्षेत्रमा मात्र नभई विश्वव्यापी रूपमा गहिरो चिन्ता थपेको छ।
युद्धको सुरुवात र मुख्य घटनाहरू
इजरायलले इरानको आणविक र सैन्य स्थलहरूलाई निशाना बनाएर आक्रमण सुरु गरेको थियो। इरान आणविक हतियार विकासको नजिक पुगिसकेका कारण यसलाई रोक्न आवश्यक रहेको तर्क गर्दै इजरायलले हवाई आक्रमण सुरु गरेको थियो । अर्थात, युद्धको उक्साहट इजरायलले गरेको थियो। यसको जवाफमा इरानले इजरायलका विभिन्न शहरहरूमा सटिक क्षेप्यास्त्र प्रहार गर्दै व्यापक क्षति पुर्यायो। दुवै पक्षले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरे, जसले तनावलाई थप बढायो।
विशेष गरी, इजरायलको रक्षा कवज रहेको अमेरिकाले इरानको तीन वटा आणविक केन्द्रमा गरेको हवाइ हमला पछि इरानले पनि कतारमा रहेको अमेरिकी एयरबेसमै मिसाइल आक्रमण गरेपछि भने यो द्वन्द्वले नयाँ मोड लियो। यद्यपि, रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको युद्धविराम प्रस्तावमा तेहरानको सहमति पक्का गरेको बताएको छ।
दुई देशको शक्ति सन्तुलन
भौगोलिक रूपमा इजरायल सानो भए पनि यसको सेना शक्तिशाली र अत्याधुनिक छ। इजरायलसँग अधिकांश आधुनिक हतियारहरू छन् र उसले हवाई क्षेत्रमा दबदबा कायम राख्दै इरानको हतियार र रक्षा प्रणालीलाई लक्षित गरेको थियो। अर्कोतर्फ, इरान ठूलो जनसंख्या र क्षेत्रीय प्रभावका साथ बलियो छ। मानव जनशक्ति र मुस्लिम धार्मिक भावनाका दृष्टिले इरान शक्तिशाली मानिन्छ। यस युद्धमा करिब सयौं मिसाइल र १,००० ड्रोन प्रहार भएको तथ्याङ्क छ। इजरायलमा २८ जनाको ज्यान गएको र ३,००० भन्दा बढी घाइते भएका छन् भने इरानमा ६ सय बढीको ज्यान गएको र चारहजार बढी घाइते भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया र युद्धविरामको प्रयास
यस युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने चिन्ता विश्वभरका परराष्ट्रविद्हरूले व्यक्त गरे। अमेरिका, भारत, चीन लगायतका देशहरूले आफ्ना नागरिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट सुरक्षित फिर्ता ल्याउन तत्कालै कदम चाले।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चायुक्त पहल र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल थानीको चर्चाबिहीन पहलका कारण इजरायल र इरानबीच तत्कालका लागि युद्धविराम भएको छ। दुवै देशले आ-आफ्नो विजयको दाबी गरे । अमेरिकी गुप्तचर रिपोर्टहरूले इरानी आणविक स्थलहरूमा पूर्ण विनाश नभएको देखाएका छन् । इरानले आफ्नो आणविक कार्यक्रमलाई मूल्याङ्कन गरी पुनः सञ्चालन गर्ने योजना बनाएको छ।
नेपालमा प्रभाव
इजरायल र इरानमा ठूलो संख्यामा नेपालीहरू कार्यरत छन्। इजरायलमा ५ हजार ५०० भन्दा बढी नेपाली रहेको अनुमान छ भने इरानमा करिब १२ जना नेपाली रहेको बताइएको छ। परराष्ट्र मन्त्रालयले इजरायलबाट नेपाल फर्कन चाहने नेपालीका लागि अनलाइन पोर्टल मार्फत विवरण संकलन गरेको थियो र हालसम्म ८८५ जनाले नाम दर्ता गराए। सरकारले नेपाली नागरिकको सुरक्षा र उद्धारलाई उच्च प्राथमिकता दिएको जनाएको थियो। भारत सरकारको सहयोगमा केही नेपालीहरूलाई इरानबाट दिल्ली हुँदै स्वदेश पनि फर्किए । इजरायलबाट नेपालीहरूलाई भूमि मार्ग हुँदै जोर्डन वा इजिप्टबाट उद्धार गर्ने प्रयास भयो। हमास आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।
यो युद्ध हाललाई अस्थायी रूपमा रोकिएको भए पनि, यसले पश्चिम एशियाको भूराजनीतिमा ठूलो प्रभाव पार्ने र भविष्यमा थप अस्थिरता निम्त्याउन सक्ने सम्भावना कायमै छ। विश्व समुदायले यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न थप कूटनीतिक पहल गरेन भने फेरि कुनै दिन अर्को चरणको युद्ध भड्किन सक्छ ।
प्रतिक्रिया