२० बैशाख २०८३, आइतबार | May 3, 2026

जात्रा मनाउन मल्ल राजालाई निमन्त्रणा



ललितपुर । ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा फूल राखेर मल्ल राजालाई प्रतिकात्मक रुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ ।

हरेक वर्ष स्वां तःवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाइमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारीलगायत राखेर प्रतिकात्मक रुपमा निमन्त्रणा दिने गरिन्छ ।

हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन नृसिंह जात्रा सञ्चालन हुने गर्दछ भने यस वर्ष साउन २९ गते यो जात्रा सञ्चालन हुँदैछ । यस वर्षको जात्रा सञ्चालन गर्न जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ । यस वर्षको जात्राका लागि गएको बिहीबार गुरुपूर्णिमाका दिन उक्त कार्य भएको हो ।

विसं १७४१ मा राजा भएका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ । दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ । विसं २०४६ सम्म उनका लागि भनेर प्रत्येक बिहान तमाखु लिएर जाने गरिन्थ्यो । दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकामा एउटा चरा पनि छ । उनले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नु भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ ।

सोही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा मल्ल राजालाई पाटन दरबारको तुसाहिटीमा रहेको शिलाको शय्या अर्थात् खातमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ । हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ ।

मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरू लगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ । बिहीबार नै जात्रासँग सम्बन्धित गुथियार शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि साउन २९ गते हुने जात्रा अवलोकनका लागि निमन्त्रणा दिएको थियो ।

ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा सञ्चालन गर्ने गर्दछ । यो जात्रा नेपाल सम्वत् ७५१ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ३ : ३९ बजे

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार

रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर

सुनचाँदी बजार : सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको भाउ

हुलाकी राजमार्ग खजुरा खण्डको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर संकलन

खजुरा । स्तरोन्नतीको चरणमा रहेको नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

भू-अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुम्बासीको परीक्षण सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-अभिलेख