३ पुस २०८२, बिहिबार | December 18, 2025

दाउन्ने सडकखण्ड एक वर्षमै ६३ पटक बन्द



नवलपरासी । बुटवल-नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये अधिकांश घटना भारी वर्षासँगै आएको पहिरो वा खसेको माटोले सडक अवरुद्ध हुँदा भएका थिए । सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि घण्टौँसम्म बाटो थुनिएको थियो ।

दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला, त्रियासी मोडलगायत क्षेत्रमा बढीजसो सडक अवरुद्ध भएको पाइएको छ । बुटवल-नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो । जम्मा १४ किलोमिटर दूरी रहेको दाउन्ने क्षेत्रमा गत आर्थिक वर्ष विगतको भन्दा धेरैपटक सडक अवरुद्ध भएको प्रमुख बन्जाराले बताए ।

“वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटानका कारण तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ”, उनले भने ।

गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यस क्षेत्रको यातायात थप अस्तव्यस्त बनेको थियो । सो अवधिमा निर्माण गरिएको अस्थायी डाइभर्सन पटकपटक खोलाले बगाउँदा यातायात अवरुद्ध हुने गरेको थियो । गत असार १९ गतेदेखि विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएपछि सो समस्या टरेको छ ।

दाउन्ने सडकखण्ड विस्तारका लागि गत चैत २७ देखि चैत ३१ गतेसम्म दिनको ११ः०० देखि ३ः०० बजेसम्म र वैशाख १ देखि ३१ गतेसम्म रातिको ११ः०० देखि बिहान ५ः०० बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएको थियो । अहिले दाउन्ने खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए ।

नारायणगढ-बुटवल सडकखण्डको एक सय १४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६ र जोखिम बढी रहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ । रु १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । यही साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४९ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन