काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउनुपर्ने माग गरेकी छन्।
राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद पन्तले सांसद पन्तले राईमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्।
पन्तले माग गरेको महाअभियोगको कारण वाइडबडी विमान खरिद प्रकरणसँग जोडिएको छ। उक्त प्रकरणमा अख्तियारले दायर गरेको मुद्दाको फैसलामा विशेष अदालतले प्रमुख आयुक्त राईमाथि अभियोजन नगरेको विषयमा गम्भीर प्रश्न उठाएको थियो। अदालतले निर्णय प्रक्रियामा संलग्न अन्य व्यक्तिमाथि कारबाही गरिएको तर राईलाई उन्मुक्ति दिइएको भन्दै चयनमुखी अभियोजन भएको टिप्पणी गरेको थियो।
यस आधारमा सांसद पन्तले राईमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाही गर्न महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्।
पन्तले मुलुकमा सुशासनको गम्भीर संकट देखिएको बताउँदै भ्रष्टाचार र अनियमितता झनै मौलाउँदै गएको टिप्पणी गरिन्।
उनले राज्यका प्रमुख अंगहरूप्रति जनताको विश्वास घट्दो क्रममा रहेको र सेवा प्रदायक तथा सेवाग्राहीबीच पनि विश्वासको संकट बढिरहेको उल्लेख गरिन्।
पन्तले पछिल्लो समय भ्रष्टाचारमा संलग्न भनिएका मन्त्रीहरू खुलेआम हिँडिरहेकामा आश्चर्य व्यक्त गर्दै सरकार मौन बस्न मिल्ने कि नबोल्ने भन्ने प्रश्न उठाइन्।



















प्रतिक्रिया